
कोलकाता, ०९ मार्च (हि.स.)। पश्चिम बंगाल सरकारले केन्द्रिय गृह मन्त्रालयले माग गरेको स्पष्टीकरण प्रतिवेदन पठाएको छ। यो स्पष्टीकरण राष्ट्रपति द्रौपदी मुर्मुको हालैको उत्तर बंगाल भ्रमणका क्रममा कथित प्रोटोकल उल्लङ्घन भएको आरोपबारे माग गरिएको थियो। राज्य सरकारले आफ्नो प्रतिक्रियामा कुनै पनि प्रकारको त्रुटि नभएको बताउँदै स्थानीय अधिकारीहरूले निर्धारित प्रक्रिया पालना गरेको जनाएको छ।
स्रोतका अनुसार, गृह मन्त्रालयले आइतबार बिहान राज्यकी मुख्य सचिव नन्दिनी चक्रवर्तीको कार्यालयसँग यस विषयमा प्रतिवेदन मागेको थियो र सोही दिन साँझ ५ बजीसम्म जवाफ दिन समयसीमा तय गरिएको थियो। राज्य सचिवालयका एक अधिकारीले मन्त्रालयलाई विस्तृत प्रतिवेदन पठाइएको पुष्टि गरेका छन्, तर प्रतिवेदनको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। उनका अनुसार, मन्त्रालयले उठाएका प्रोटोकलसँग सम्बन्धित सबै विषयमा क्रमबद्ध रूपमा स्पष्टीकरण दिइएको छ।
यसअघि आइतबार मुख्यमन्त्री ममता ब्यानर्जीले पनि यस विषयमा प्रतिक्रिया दिँदै राष्ट्रपतिको बागडुग्रा एयरपोर्टमा आगमन हुँदा प्रोटोकलअनुसार स्वागत गरिएको बताएकी थिइन्। उनका अनुसार, सिलगढी नगर निगमका मेयर गौतम देव, दार्जिलिङका जिल्ला अधिकारी तथा सिलगढी महानगर पुलिस आयुक्त त्यहाँ उपस्थित थिए। उनले मुख्यमन्त्रीको हैसियतमा आफूले स्वागत गर्ने वा कार्यक्रममा मञ्चमा उपस्थित रहने कुनै पूर्व योजना नभएकोले प्रोटोकल उल्लङ्घनको प्रश्न नै नउठ्ने बताइन्।
राष्ट्रपति मूलतः शुक्रबार दिउँसो उत्तर बंगाल पुग्ने कार्यक्रम थियो, तर केही अपरिहार्य कारणले कार्यक्रम स्थगित भएको थियो। त्यसपछि उनी शनिबार बिहान करिब ११:३० बजी बागडुग्रा एयरपोर्ट पुगेकी थिइन्।
राष्ट्रपतिले फांसीदेवा क्षेत्रमा आदिवासी समुदायको कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो, तर पछि कार्यक्रम स्थल परिवर्तन गरी गोसाईपुरमा सारिएको थियो। स्थल परिवर्तनलाई लिएर विवाद भएपछि राष्ट्रपतिले असन्तुष्टि समेत व्यक्त गरेकी थिइन्।
पछि उनी फांसीदेवा पनि पुगेकी थिइन्, जहाँ कार्यक्रम शुरुमा आयोजना हुने तय गरिएको थियो। त्यहाँ उनले राज्य प्रशासनप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री ममता ब्यानर्जी आफूका लागि सानी बहिनी जस्तै भएको बताइन्, तर राज्य भ्रमणका क्रममा न त मुख्यमन्त्री र न त उनका कुनै मन्त्रीले आफूलाई भेट्न आएको, जुन परम्परागत प्रोटोकलअनुसार नभएको टिप्पणी गरेकी थिइन्।
राष्ट्रपतिको यस भनाइपछि भाजपाका नेताहरू र मुख्यमन्त्री ममता ब्यानर्जीबीच आरोप-प्रत्यारोप शुरु भएको थियो। त्यसपछि आइतबार बिहान गृह मन्त्रालयले यस सम्पूर्ण प्रकरणमा राज्य सरकारसँग स्पष्टीकरण मागेको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी