भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार अमर लामाले बुझाए नामाङ्कन पत्र
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाले बुझाए नामांकन पत्र


खरसाङ, 01 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा उम्मेदवार अमर लामाले आज खरसाङमा आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। आफ्नो नामाङ्कन पत्र बुझाउन अघि उम्मेदवार लामा र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले बिहान खरसाङको गिद्ध पहाडस्थित मन्दिरमा पूजा अर्चना गरेका थिए।

नामाङ्कन भर्न अघि खरसाङको मोटर स्ट्याण्डमा सर्वधर्म पूजा पनि गरिएको थियो। यस अवसरमा हिन्दु, बौद्ध, मुस्लिम र इसाई धर्मका प्रमुखहरुले पूजा साथै प्रार्थना गरे। उक्त पूजा अर्चनापछि खरसाङको मोटर स्ट्याण्डबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका समर्थकहरुले विराट ऱ्यालीको आयोजना गरे। ऱ्याली हिल कार्ट रोड, महकुमा अस्पताल मोड, वर्द्धमान रोड हुॅंदै पुनः मोटर स्ट्याण्ड आइपुगेर पंखाबारी रोड हुँदै खरसाङ महकुमा शासक कार्यालय पुग्यो।

अमर लामाले खरसाङ महकुमा शासक कार्यालयमा खरसाङ महकुमा शासक प्रिया यादवलाई आफ्नो नामाङ्कन पत्र बुझाए। नामाङ्कन पत्रको जाँच 7 अप्रेलको हुनेछ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande