
खरसाङ, 01 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) को केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले 2017 मा ठूलो जोखिम उठाएर परिवर्तन ल्याएको र पहाडमा शान्ति स्थापित गरेको दाबी गरेका छन्। उनले 2017 देखि नै नयाँ विचारको साथमा परिवर्तनको अभियान शुरु गरेको बताए।
बुधवार खरसाङमा बीजीपीएम उम्मेदवार अमर लामाको नामाङ्कन पत्र बुझाउने क्रममा पत्रकारहरुले सोधेका प्रश्नहरूको उत्तर दिॅंदै यसो भनेका हुन्। थापाले भने, उनीहरुले अहिले कस्तो परिवर्तन चाहेका हुन् त्यो याद भएन, तर हाम्रो परिवर्तनमा कोही पनि पहाडबाट भाग्नु परेको छैन। किनभने पहिले पहाडमा बोल्न नसकेर भागेका हौं। अहिले पहाडमा जे बोल्दा पनि हुन्छ।
उनले कसैको नाम नलिई भने, उनी पहिले गोरामुमोबाट टीएमसी, पछि बीजेपी, बीजेपीबाट हाम्रो पार्टीमा परिवर्तन भयो भने अहिले फेरि इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा परिवर्तन भएको छ। तरै पनि अहिलेसम्म पञ्जीकरण भने गर्नु सकेको छैन। केवल झण्डा मात्र छ।
अध्यक्ष अनित थापाले भने, यसपाली हामीले दार्जिलिङबाट शिक्षाविदलाई चुनाउमा उतारेका छौँ। उहाँ एकजना शिक्षाविद्, वरिष्ठ साहित्यकार हुन्। दार्जिलिङका जनताले एकजना शिक्षाविदलाई भोट दिने कि कलेज नै नदेखेकोलाई भोट दिने हो, त्यो त दार्जिलिङवासीले नै निर्णय गर्नेछन्।
बीजीपीएमको चुनाउ चिन्ह परिवर्तन भएको विषयमा बोल्दै अनित थापाले भने, हामी प्रकाशमा विश्वास गर्छौं। हामी उज्यालोमा विश्वास गर्छौँ र हाम्रो नयाँ चुनाउ चिन्ह ब्याट्रीको टर्च लाइट हो। जुन हावा र पानीले पनि निभ्न सक्दैन र बलेको बलेकै गर्छ। हामी सदैव सकारात्मक कुरामा विश्वास गर्छौं।' उनले खरसाङमा मानिसहरूको भीड देखेर मनोबल बढेको बताए।
हिन्दुस्थान समाचार / हनोक