शिक्षा एक सम्पत्ति हो जुन कहिल्यै चोरी गर्न सकिँदैन: मुख्यमन्त्री
पीएस तामाङ


गान्तोक, 01 अप्रेल (हि.स.)। सिक्किम सरकारको विद्यालय शिक्षा विभागले आज राजधानीको चिन्तन भवनमा 'विकसित सिक्किमको लागि मानव पूँजीको विकास- सबैका लागि गुणस्तरीय विद्यालय शिक्षा' शीर्षकमा एक कार्यक्रम आयोजना गर्‍यो। राज्यमा विद्यालय शिक्षा प्रणालीलाई सुदृढ़ पार्ने विषयमा छलफल गर्न आयोजित यस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि तथा शिक्षा विभाग मन्त्री राजु बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले यो कार्यक्रम केवल प्रशासनिक समीक्षा मात्र नभई शिक्षाको माध्यमबाट सिक्किमको भविष्यलाई आकार दिने उद्देश्यले गरिएको गम्भीर र सामूहिक अभ्यास रहेको बताए। उनले राज्यका सबै कुनाबाट अधिकारीहरू, शिक्षकहरू र तल्लो तहका नीति कार्यान्वयनकर्ताहरूको उपस्थितिले विभाग र यसका कर्मचारीहरूको प्रतिबद्धता र इमानदारीलाई प्रतिबिम्बित गरेको उल्लेख गरे।

मुख्यमन्त्रीले शिक्षा प्रगतिको जग तथा बलियो र समृद्ध समाजको मेरुदण्ड रहेको बताए। उनले सिक्किमको शिक्षा नीतिलाई अझ सुदृढ पार्नुको महत्त्वमा जोड दिॅंदै यो विश्वकै उत्कृष्ट प्रणालीहरू मध्ये एकमा विकसित हुनुपर्छ, जुन पहुँचयोग्य, समावेशी र गुणस्तरमा सम्झौता नगर्ने होस् भनी बताए।

उनले केन्द्रित सुधारहरूको लागि आह्वान गर्दै सरकारी विद्यालयहरू अभिभावक र विद्यार्थीहरूको लागि पहिलो र सबैभन्दा मनपर्ने विकल्प बन्नु पर्छ भने। उनले सरकारी विद्यालयहरूमा शिक्षकहरूको योग्यता, अनुभव र तालिम प्रायः निजी संस्थाहरूको भन्दा बलियो हुन्छ र सरकारी विद्यालयहरू पनि एक राम्रो प्रशासनिक ढाँचा भित्र काम गर्छन् भन्दै धेरै अभिभावकहरूले निजी विद्यालयहरूलाई नै प्राथमिकता दिइरहेको बताए। उनले विभागलाई यो प्राथमिकताको पछाडिका कारणहरू सावधानीपूर्वक जाँच गर्न तथा अभिभावक र विद्यार्थीहरूले निजी संस्थाहरू भन्दा सरकारी विद्यालयहरू छनौट गरुन् भन्ने दृढ संकल्पका साथ काम गर्न आग्रह गरे।

मुख्यमन्त्रीले शिक्षाको लक्ष्य केवल विद्यार्थीहरूलाई शिक्षित गर्नु मात्र नभई विश्वको कुनै पनि कुनामा सफल हुन सक्ने व्यक्तिहरू सिर्जना गर्ने हुनुपर्छ भनी बताए। सम्मेलनलाई राज्यमा आफ्नो प्रकारको पहिलो वर्णन गर्दै यसलाई थप अन्तरक्रियात्मक र भविष्यका सम्मेलनहरूमा अधिकारीहरू र शिक्षकहरूबाट व्यापक सहभागिता, विचार-साझेदारी र क्षेत्र-आधारित अनुभवहरूलाई प्रोत्साहित गर्ने आशा व्यक्त गरे। उनले प्रगतिको समीक्षा गर्न, परिणामहरूको मूल्याङ्कन गर्न र चुनौतीहरू पहिचान गर्न समय-समयमा यस्ता सम्मेलनहरू आयोजना गरिनुपर्ने कुरामा जोड दिए।

मुख्यमन्त्रीले भने, शिक्षा एक सम्पत्ति हो जुन कहिल्यै चोरी गर्न सकिँदैन। सरकारले शिक्षालाई आफ्नो सर्वोच्च प्राथमिकता क्षेत्रहरू मध्ये एक मान्दछ। राज्य सरकारले रणनीतिक सम्बन्ध, साझेदारी र नीतिगत समर्थन मार्फत सिक्किममा वैश्विक स्तरको शिक्षा ल्याउन निरन्तर प्रयास गरिरहेको छ। उनले प्रणालीभित्र अझै पनि कमजोरी र असमानताहरू रहेको कुरालाई स्वीकार गर्दै यसलाई सामूहिक प्रयास, प्रतिबद्धता र उद्देश्यको इमानदारीबाट मात्र समाधान गर्न सकिने बताए।

मुख्यमन्त्रीले टिचर ट्रान्फर एवं पोस्टिङ पोलेसी ल्याइरहेकोमा विभागको प्रशंसा गरे र यसलाई ऐनमा रूपान्तरण गर्ने विचार गर्न सुझाए दिए ताकि यसलाई सबै सम्बन्धितहरूका लागि बाध्यकारी, पारदर्शी र समतामूलक बनाइयोस्। उनले सरकारले २०२१ मा शिक्षक नियमितीकरण नीति ल्याएको पनि स्मरण गराए, जसले धेरै शिक्षकहरूलाई सहज र व्यवस्थित रूपमा नियमित गर्न सक्षम बनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande