टीएमसी सरकारले गोर्खाहरूसॅंग सधैं भेदभाव गरेको छ: हिमन्त बिस्व सरमा
गोरुबथानमा चुनावी सभा


गोरुबथानमा चुनावी सभा


कालेबुङ, 18 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री तथा उत्तर-पूर्वी क्षेत्रको भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता हिमन्त बिस्व सरमाले कालेबुङका भाजपा उम्मेदवार भारत छेत्रीको समर्थनमा आज गोरुबथानमा एक चुनावी सभालाई सम्बोधन गरे।

मुख्यमन्त्री सरमाले चिया बगानका श्रमिकहरूसँग कुरा गर्दै असममा भाजपा सरकारले चिया श्रमिकहरूलाई बंगालभन्दा अधिक वेतनका साथै अतिरिक्त सुविधाहरू उपलब्ध गराएको दाबी गरे। उनले असममा फेरि भाजपा सरकार गठन भएपछि चिया श्रमिकहरूको दैनिक ज्याला बढाएर ४५० रुपियाँ गरिने जानकारी गराए। उनले बंगालमा टीएमसी सरकारको आलोचना गर्दै भने, टीएमसी सरकारले चिया बगानको जग्गा टीएमसीलाई फन्ड गर्नेहरूलाई पाँचतारे होटल निर्माण गर्न दिन्छ भने चिया श्रमिकहरूलाई वञ्चित राख्छ। चिया बगानमा रहेको जमिनमा चिया मजदुरहरूको पहिलो अधिकार हुन्छ।

पश्चिम बंगालमा जनसांख्यिक परिवर्तनको लागि तृणमूल सरकारलाई दोषी ठहऱ्याउॅंदै उनले भने, पश्चिम बंगाल सरकारले आफ्नो भोट ब्याङ्कको लागि अवैध घुसपैठीहरुलाई समर्थन गर्छ र भारत-बंगलादेश सीमामा फेन्सिङका लागि आवश्यक जग्गा दिन अस्वीकार गर्छ। भाजपाले सीमाको फेन्सिङ गर्नेछ र सबै अवैध घुसपैठीहरुको सत प्रतिशत निर्वासन सुनिश्चित गर्नेछ।'

उनले टीएमसी सरकारमाथि उत्तर बंगाल, विशेषगरी गोर्खाहरूप्रति सधैं भेदभाव गरेको पनि आरोप लगाए। उनले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपाले यस क्षेत्रको लागि भारतीय संविधानअन्तर्गत स्थायी राजनीतिक समाधान सुनिश्चित गर्नेछन्।'

उनले प्रतिबद्धता व्यक्त गर्दै भने, हामी चिया श्रमिक, सिन्कोना श्रमिक र वनवस्ती निवासीहरूका लागि पर्जापट्टा अधिकार प्रदान गर्नेछौं। हामी उत्तर बंगालमा एम्स, आईआईटी, आईआईएम स्थापना गर्नेछौं र उत्तर बंगालमा समर्पित क्यान्सर अस्पताल पनि स्थापना गर्नेछौं। हामी दार्जिलिङलाई प्रमुख पर्यटन हब बनाउनेछौं।'

उनले कालेबुङका जनतालाई भरत छेत्रीलाई भोट दिन अनुरोध गर्दै भने, 'भरत छेत्रीजस्ता व्यक्ति हाम्रो देश र गोर्खा समुदायको गौरव हुन् र उहाँजस्तो राम्रो व्यक्तिले जित्दा गोर्खा समाज र देश पनि सम्मानित हुनेछ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande