
मिरिक, 18 अप्रेल (हि.स.)। खरसाङ विधानसभा समष्टिको लागि भारतीय जनता पार्टीका उम्मेदवार सोनाम लामाले आज मिरिकको सौरेनी–टोकलाङ क्षेत्रमा जनसम्पर्क अभियान एवं चुनाउ प्रचार गरेका छन्। चुनाउ प्रचारको क्रममा विभिन्न स्थानहरुमा पुगेर त्यहाँको अवस्थालाई नजिकबाट हेर्ने र जीटीएको विकासको वास्तविक अवस्थालाई नियाल्ने काम गरेको लामाले बताएका छन्।
उनले आज एउटा भिडियो जारी गर्दै भने, लगभग ६ महिना अघि यस क्षेत्रमा ठूलो पैह्रो गएको थियो। धेरै घरहरू क्षतिग्रस्त भए। तर, आजसम्म यहॉं कुनै ठोस काम भएको देखिएन। यहाँसम्म कि पैह्रो रोकथामका लागि आवश्यक संरक्षण कार्यसमेत गरिएको छैन। ठूला–ठूला विकासका कुरा मात्र गरेर हुँदैन जमिनमै काम देखिनुपर्छ।
उनले भारतीय जनता पार्टीको सरकार बनेपछि यस विषयमा पूर्ण छानबिन गर्ने र दोषी विरुद्ध कारबाही गर्ने बताए। उनले प्रभावित क्षेत्रमा पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि पनि ठोस कदम चाल्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / हनोक