
दार्जिलिङ, 18 अप्रेल (हि.स.)। हामीलाई डम्बर सिंह गुरूङ र अरिबहादुर गुरूङ हुने इच्छा छ। बिमल गुरूङ हुने इच्छा छैन। उक्त कुरा आज इण्डियन गोर्खा जनशक्ति फ्रण्टको दार्जिलिङ विधानसभा समष्टिका उम्मेदवार अजय एडवर्ड्सले भनेका हुन्। उनी आज ब्लूम फिल्ड ऋषिहाट समष्टिमा चुनाउ प्रचार गरिरहेका थिए।
अजय एडवर्ड्सलाई स्थानीय मानिसहरू भव्य स्वागत जनाएका थिए। आफ्नो चुनाउ प्रसार प्रचारको क्रममा एडवर्ड्सले भने, हामीलाई डम्बरसिंह गुरूङ, अरिबहादुर गुरूङ हुने इच्छा छ, बिमल गुरूङ हुने इच्छा छैन। हामीलाई सोच विचारमा मदन तामाङ हुने इच्छा, उहॉंको भाई अमर लामा हुने इच्छा छैन। सुवास घिसिङ जस्तो नेतृत्ववान लिडर हुने इच्छा, उनको छोरा मन घिसिङ जस्तो हुने इच्छा छैन।
उनले अझ भने, पहाडमा परिवर्तन ल्याउनु छ भने अजय एडवर्ड्स, बन्दना राई र भर्नोन व्रिटो लेप्चालाई तपाईहरूले विजय बनाउनु पर्छ। बंगाल र भाजपाको धोती समाएर कहाँसम्म जानु? हामीले हाम्रो क्षेत्रीयतालाई बचाउनु पर्छ। बंगाल र भाजपाको अधीनमा बसेर हामीले हाम्रो क्षेत्रको लागि केही गर्न सक्दैनौ।'?
उनले भने, चिया बगानका श्रमिकहरूले 2 सय 20 रूपियाँको दैनिक रोजीको जिन्दगी जिउनु पर्दैछ। हामी डिप्लोमेसीमा विश्वास गर्छौँ, तर दासत्व, कठपुतलीमा विश्वास गर्दैनौँ। दार्जिलिङ पहाडमा परिवर्तन ल्याउने बल ताकत जनताको हातमा छ। हामीलाई हराउन भाजपा र टीएमसीले शाम, दाम दण्ड, भेद सबै प्रयोग गर्दैछ। तर, पहाड तराई डुवर्स तथा गोर्खाहरूको अस्तित्व तपाईहरूको एक भोटले बचाउन सक्छ।
हिन्दुस्थान समाचार / हनोक