
दार्जिलिङ, 18 अप्रेल (हि.स.)। कालेबुङका विधायक एवं हालको कालेबुङ विधानसभा समष्टिको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार रुदेन सादा लेप्चालाई दार्जिलिङका सांसद राजु विष्टले तँ भनेर सम्बोधन गरेको भन्दै बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले विरोध जनाएका छन्। उनले एक भिडियो जारी गर्दै सांसद विष्टको नाम नलिई विधायक जस्तो गरिमामय पदमा रहेका व्यक्तिलाई तँ भनेर सम्बोधन गर्नु उचित नरहेको बताएका छन्।
उनले भने, रुदेन सादा लेप्चा विधायक मात्र नभएर उनी यहाँको अनुसूचित जनजाति समुदायमा पर्ने व्यक्ति हुन्। रुदेन सादा लेप्चालाई तँ भनेर सम्बोधन गर्नु सम्पूर्ण पहाडका अनुसूचित जनजाति र अल्पसंख्यकहरुलाई हेपेको हो। यो राम्रो होइन।' पेम्बा रिम्पोर्छेले अघि भने, वन साङ्लोले घर साङ्लोलाई खेद्छ भन्ने उखान जस्तै भइसकेको छ। वन साङ्लोलाई पैसामा जाति र संस्कृति बेचेर ल्याउँदा जातिलाई नोक्सान भएको छ।
हिन्दुस्थान समाचार / हनोक