
गान्तोक, 18 अप्रेल (हि.स.)। सिक्किम अकादेमीले पहिलोपटक म्युजियोलोजी विषयमा प्यानल छलफल आयोजना गर्दै कला, सम्पदा र संस्कृतिसँग सम्बन्धित व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याएको छ। यस कार्यक्रमलाई राज्यमा सङ्ग्रहालयसम्बन्धी चेतना र संवाद प्रवर्द्धन गर्ने महत्वपूर्ण कदमको रूपमा लिइएको छ।
प्यानलमा गान्तोकका कलाकार तथा अनुसन्धानकर्ता सेवान राई र नाम्चीस्थित हेरिटेज ह्यान्डिक्राफ्ट म्युजियमकी सहायक शाखा निरीक्षक पेमा केसाङ शेर्पा सहभागी थिए। कार्यक्रमको सञ्चालन पत्रकार तथा कवि प्रवीण खालिङले गरेका थिए। कार्यक्रमको अध्यक्षता रिनाकस्थित राम गौरी संग्रहालयका स्वामी गणेश प्रधानले गरेका थिए।
छलफलमा सांस्कृतिक सम्पदाको संरक्षणमा आधुनिक म्युजियोलोजीको महत्वमाथि प्रकाश पारियो। सिक्किममा म्युजियमको आवश्यकतामाथि गम्भीर ध्यानाकर्षण गराइयो।
वक्ताहरूले परम्पराको संरक्षणमा सङ्ग्रहालयको भूमिका, क्युरेसनका चुनौतीहरू तथा समुदायको सहभागिताको आवश्यकताबारे आफ्ना विचारहरू राखे।
यो कार्यक्रम सिक्किममा म्युजियोलोजीसम्बन्धी औपचारिक छलफलको सुरुवातको रूपमा महत्वपूर्ण मानिएको छ।
हिन्दुस्थान समाचार / बिशाल