ग्राम विकास विभागका प्रमुख अधिकारीहरूको स्थलगत निरीक्षण
ग्राम विकास विभागका प्रमुख अधिकारीहरूको स्थलगत निरीक्षण


गेजिङ, 19 अप्रेल (हि.स.)। पश्चिम सिक्किमका विभिन्न स्थानहरूमा पछिल्ला केही दिनदेखि ग्राम विकास विभाग, मुख्यालयका प्रमुख अधिकारीहरूको टोली सक्रिय रूपमा स्थलगत निरीक्षण गरिरहेको छ। उक्त टोलीमा ग्राम विकास विभागका अध्यक्ष नारायण खतिवडा, ओएसडी कृष्ण लेप्चा, सचिव अनिलराज राई लगायत अन्य अधिकारी तथा कर्मचारीको सहभागीता रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यस निरीक्षण भ्रमणका क्रममा विशेषगरी पीएमजीएसवाई अन्तर्गतका सडकहरू गुणस्तरीय रूपमा निर्माण भएको अथवा नभएको, लामो समयदेखि थाँतीमा रहेका पुलहरू, नव स्वीकृत पुल परियोजना, तथा नयाँ सडक निर्माण जस्ता महत्वपूर्ण पूर्वाधार कार्यहरूको गहन जायजा लिइँदैछ।

विज्ञप्तिमा भनिएको छ, ग्रामीण तथा जिल्लास्तरीय अधिकारी र कर्मचारीहरू सदैव तृणमूल तहमा बसेर जनताको सेवामा निरन्तर खटिँदै आएका छन्। तर, कतिपय जटिल अवस्था तथा ठूला परियोजनाहरूमा मुख्यालयका अधिकारीहरूको प्रत्यक्ष निरीक्षण, मार्गदर्शन र सहयोग अत्यन्त आवश्यक हुने गर्दछ।

यसै सन्दर्भमा, विगत केही दिनदेखि विभागीय मुख्यालयका अधिकारीहरूको स्वयं ग्रामीण क्षेत्रमा पुगेर वस्तुगत मूल्याङ्कन गर्नु, समस्या सुन्नु र समाधानतर्फ पहल गर्नु प्रशंसनीय कदम रहेको बताइएको छ। यसले विकास कार्यलाई अझै प्रभावकारी बनाउँदै तृणमूल तहमा काम गरिरहेका कर्मचारीहरूलाई पनि थप मनोबल र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

स्थलगत रूपमा दिनरात खट्ने ग्रामीण र जिल्लास्तरीय सबै अधिकारी तथा कर्मचारीप्रति ग्राम विकास विभागले हार्दिक आभार व्यक्त गरेको छ। विभागले विकासका यी प्रयासहरूले पश्चिम सिक्किमको समग्र पूर्वाधार सुदृढीकरणमा नयाँ गति ल्याउँछन् विश्वास व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande