
गान्तोक, 20 अप्रेल (हि.स.)। राजधानीमा आगामी 1 र 2 मई, 2026 का दिन आयोजना हुने राष्ट्रिय प्रविधि तथा न्यायिक शिक्षा सम्मेलनलाई लिएर आज टाशीलिङ सचिवालयमा एक समन्वय बैठक आयोजना गरियो। सिक्किम उच्च न्यायालयका अधिकारीहरूले आयोजना गरेको उक्त बैठकको अध्यक्षता सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले गरेका थिए।
उक्त सम्मेलनमा भारतका ५३औं मुख्य न्यायाधीश सूर्य कान्त, भारतको उच्चतम अदालतका न्यायाधीशहरू, देशभरका विभिन्न उच्च अदालतका न्यायाधीशहरू र विदेशी राजदूतहरू उपस्थित हुने अपेक्षा गरिएको छ।
मुख्य सचिवले बैठकमा प्रोटोकल, सुरक्षा, स्वास्थ्य सेवाहरू, स्थल तयारी, सांस्कृतिक कार्यक्रमहरू, सौन्दर्यीकरण, मर्मत कार्यहरू, यातायात र आवास सहित अन्य व्यवस्थाहरूको स्थितिको समीक्षा गरे। दुई दिवसीय कार्यक्रमको सहज र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न उनले सुझाउहरू पनि प्रस्तुत गरेका थिए। उनले सावधानीपूर्वक योजना र समन्वयको महत्त्वमा जोड दिॅंदै कार्यक्रमको सफलता सुनिश्चित गर्न सबै विभागहरूबाट पूर्ण प्रतिबद्धताको लागि आह्वान गरे।
बैठकमा गान्तोक र मङ्गनका जिल्लापालहरू भिडियो कन्फरेन्स मार्फत सामेल भएका थिए। बैठकमा पुलिस महानिदेशक अक्षय सचदेव, पर्यटन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, शहरी विकास विभागका सचिव जितेन्द्र सिंह राजे, विभिन्न लाइन विभागका प्रमुखहरू, सिक्किम उच्च अदालत र सिक्किम न्यायिक एकेडेमीका अधिकारीहरू, १७ पर्वतीय डिभिजनका अधिकारीहरू आदि पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल