
खरसाङ, 20 अप्रेल (हि.स.)। खरसाङको लङभ्यू चियाबारीका मालिकले कोलकातामा भएको त्रिपक्षीय सम्झौता उल्लङ्घन गरेको भन्दै चियाबारीका श्रमिकहरू सडक आन्दोलनमा उत्रिएका छन्। बगान मालिकको रवैया विरूद्ध श्रमिकहरूले तुरुन्त सरकारी हस्तक्षेपको माग गरेका छन्।
कोलकातामा भएको सम्झौता अनुसार, बकया तलब र ज्याला 31 मार्च, 2026 भित्र भुक्तानी गर्ने, पुरानो बक्यौता प्रत्येक महिना 15 प्रतिशतका दरले अप्रेलको पहिलो साताबाट भुक्तानी शुरु गर्ने सहमति भएको थियो। सम्झौता अनुसार, 15 अप्रेलभित्र रुपियाँ 3 करोड, 15 लाख, 8 हजार 3 सय 57 रुपियाँ पीएफ पनि मालिकले भुक्तान गर्नु पर्ने थियो साथै अवकाशप्राप्त 76 जना श्रमिकहरूको बाँकी ग्रेच्युटी प्रत्येक महिना 3 लाख रुपियाँका दरले भुक्तानी गर्ने निर्णय गरिएको थियो। तर, मालिकले उक्त सम्झौताका कुनै पनि बुँदा कार्यान्वयन नगरेको आरोप छ।
यसले श्रमिकहरू र सरकारबीचको विश्वासमाथि गम्भीर आघात पुर्याएको श्रमिकहरूको आरोप छ। यसको विरोधमा चियाबारी श्रमिकहरुले खरसाङमा अवस्थित सह श्रमायुक्तको कार्यालय अघि धरना प्रदर्शन पनि गरे। साथै, श्रमिकहरुले खरसाङ बजारमा पनि विरोध र्यालीको आयोजना गरेका थिए। हिल प्लान्टेसन इम्प्लोइज युनियनले 2026 को विधानसभा चुनाउ अघि नै श्रमिकहरूलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ। युनियनले चेतावनी दिँदै भनेको छ, यदि 23 अप्रेलभित्र श्रम विभागले हस्तक्षेप गरी बक्यौता रकम भुक्तानी गराउन सकेन भने आन्दोलन अझै कडा बनाइनेछ।
स्मरण रहोस्, गत 10 मार्च, 2026 मा पश्चिम बंगाल श्रम विभागको आह्वानमा आयोजित त्रिपक्षीय बैठकमा लङभ्यू चिया बगानमा सक्रिय सबै ट्रेड युनियनहरू सहभागी भएका थिए। श्रम मन्त्री मलय घटकको उपस्थितिमा भएको उक्त बैठकको अध्यक्षता श्रम विभागका सचिव अवनिन्द्र सिंहले गरेका थिए। बैठकमा जीटीएका उपाध्यक्ष राजेश चौहान पनि उपस्थित थिए भने बगान व्यवस्थापन पक्षबाट मालिक गोविन्द गर्ग, एचआर शाबरी घोष र प्रबन्धक अजीत पाल सिंह सहभागी थिए।
हिन्दुस्थान समाचार / हनोक