
इटानगर, 20 अप्रेल (हि.स.)। अरुणाचल प्रदेश नागरिक समाज (एसीएस) ले सोमवार मुख्यमन्त्री पेमा खाण्डुको राजीनामा तथा उनीविरूद्ध भ्रष्टाचारको कथित मामिलाको केन्द्रिय जाँच ब्यूरो (सीबीआई) बाट निष्पक्ष जाँच गराउने मागमा पदयात्रा आयोजना गऱ्यो।
मुख्यमन्त्री पेमा खाण्डुविरूद्ध नारा लेखिएका ब्यानर तथा पोस्टरहरू हात-हातमा बोकेर सयकड़ौं युवाहरूले आकाश दीप बजारदेखि ऱ्याली शुरू गरे जुन इटानगरको आईजी पार्क टेनिस कोर्टमा पुगेर समाप्त भयो।
आईजी पार्कमा ऱ्यालीलाई सम्बोधन गर्दै एसीएसका अध्यक्ष ब्यागबांग जोरमले भने, मुख्मन्त्री खाण्डुविरूद्ध हाम्रो लोकतान्त्रिक आन्दोलन उनले राजीनामा नदिउञ्जेलसम्म जारी रहनेछ। यो एउटा ठूलो मुद्दा हो कि सुप्रीम कोर्टले सीबीआईलाई मुख्यमन्त्री पेमा खाण्डुविरूद्ध पछिल्लो केही वर्षमा उनको परिवारका कम्पनीहरूलाई 1,270 कड़ोर रुपियाँको ठेका दिएको आरोपको जाँच गर्ने निर्देश दिएको छ।
उनले भने, हामी सीबीआईलाई स्वागत गर्छौं। सरकारले यस मामिलामा निष्पक्ष जाँचमा सहयोग गर्नुपर्छ ताकि शासनमा पारदर्शिता एवं जवाफदेही सुनिश्चित हुन सकोस्।
जोरमले भने, हामीले देखेका छौं कि केन्द्रिय मन्त्रीले ट्रेन वा हवाई जहाज दुर्घटना हुँदा नैतिकताको आधारमा राजीनामा दिन्छन्, तर यो मामिला एक हजार कड़ोर रुपियाँभन्दा अधिकको धनसित जोड़िएको छ। त्यसैले मुख्यमन्त्री खाण्डुले निष्पक्ष तथा स्वतन्त्र जाँचको लागि नैतिक आधारमा आफ्नो पदबाट राजीनामा दिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा