
गान्तोक, 20 अप्रेल (हि.स.)। विपक्षी सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टीको चेली मोर्चा प्रकोष्ठले सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमाथि नारीहरूको दुरुपयोग गरेको आरोप लगाएको छ। साथै, एसकेएम पार्टीलाई नानीहरूको अधिकार र आरक्षणमाथि बोल्ने कुनै नैतिक अधिकार पनि नरहेको एसडीएफ चेली मोर्चा प्रकोष्ठले बताएको छ।
एसडीएफ चेली मोर्चा प्रकोष्ठकी प्रभारी कोमल चामलिङले आज राजधानीस्थित एसडीएफ मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो आरोप लगाइन्। उनले वर्तमानमा 'नारी शक्ति वन्दन अधिनियम' वरपर राजनीति घुमिरहेको उल्लेख गर्दै यस अधिनियमलाई लिएर धेरै भ्रम फैलाउने काम भएको बताइन्। उनले वर्ष 2023 मा नै महिला आरक्षण बिल पक्ष-विपक्ष सर्वसम्मतिद्वारा संसदमा पारित भइसकेको बताउॅंदै अहिले विपक्षीहरूले पास गर्नु दिएन भन्ने झुटो प्रचार र दिग्भ्रमित गर्ने काम भइरहेको बताइन्। उनले महिला आरक्षण बिल पास भएर कानुन समेत बनिसकेको, तर कार्यान्वयन मात्र नभएको स्पष्ट पारिन्।
प्रभारी चामलिङले हालैमा सम्पन्न भएको संसदको विशेष सत्रमा महिला आरक्षणको नाममा सीमाङ्कन र सांसदहरूको सीट संख्या बढाउने कुरा भएपछि विपक्षीहरूले विरोध जनाएको बताइन्। उनले नारी शक्ति वन्दन अधिनियमलाई लिएर हालैमा सिक्किममा आयोजित ऱ्यालीको उल्लेख गर्दै ऱ्याली किन गरियो भन्ने कुरामा आफु कन्फ्युज रहेको बताइन्। उनले 2011 को जनगणनाको आधारमा महिला आरक्षण गराउने प्रावधान पेश गरिएको थियो भन्दै भनिन्, 'यदि त्यसको आधारमा सीट आरक्षण भएको भए ओबीसीको आरक्षण हुने थिएन। तर, ऱ्याली धेरै ओबीसी नेतृहरू पनि सामेल थिए। उनीहरू बुझेर सामेल भएका हुन् कि नबुझि, त्यो थाहा भएन।'
उनले यदि 2011 को जनगणनाकै आधारमा लोकसभाको सीट संख्या बढाइएको भए सिक्किमको सीट बढ्ने सम्भावना थिएन भनी दाबी गरिन्। सिक्किमका सांसदले यस विषयमा बोल्नु पर्ने थियो, तर यस्तो मुद्दालाई छाडेर एसकेएमले खाली प्रापगाण्डा गर्ने कार्य गरेको उनले आरोप लगाइन्। उनले महिला आरक्षणको समर्थनमा ऱ्याली गर्नु थियो भने 2023 मा नै गर्नु पर्ने थियो भन्दै एसकेएमले आफ्नो एजेण्डाको लागि नारीहरूको दुरुपयोग गरेको आरोप लगाइन्। उनले सिक्किमका नारीहरू आज राष्ट्रिय स्तरमा हॉंसोको पात्र बनेको बताउॅंदै एक नेताले सिक्किममा आयोजित ऱ्यालीलाई विपक्षीहरूको विरोधमा निकालिएको ऱ्याली भनेर चित्रण गरिरहेको दाबी गरिन्।
एसडीएफ चेली प्रभारी चामलिङले एसकेएम पार्टीलाई महिला अधिकारीको बारेमा बोल्ने नैतिक अधिकार पनि नरहेको आरोप लगाइन्। एसकेएमले आजसम्म एकै जना पनि नारीलाई मन्त्री बनाउन नसकेको बताउॅंदै एसकेएम सरकार पुरुष प्रधान सरकार रहेको उनले बताइन्। कृष्ण राईले नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रबाट चुनाउ जितेपछि उनलाई राजीनामा दिन लगाएर एकजना पुरुषलाई नै उठाएको उनले बताइन्। अर्कातिर, उनले महिला आरक्षणको समर्थन गर्दै 2029 को चुनाउ महिला आरक्षणकै आधारमा होस् भन्ने पार्टीको अडान रहेको स्पष्ट पारिन्।
हिन्दुस्थान समाचार / बिशाल