
कोलकाता, 21 अप्रेल (हि.स.)। आगामी 23 अप्रेलको दिन पश्चिम बंगाल विधानसभा चुनाउको पहिलो चरणको मतदान हुनअघि चुनाउ आयोगले राज्यभरि नै सुरक्षाको कड़ा बन्दोबस्त गरेको छ। पहिलो चरणमा निष्पक्ष तथा शान्तिपूर्ण मतदान सुनिश्चित गर्नको लागि लगभग 02 हजार 407 कम्पनी केन्द्रिय सुरक्षा बलहरूलाई तैनाथ गरिँदैछ।
यसैबीच तृणमूल कंग्रेसका नेता कुणाल घोष र रिजू दत्ताले केन्द्रिय बलहरूको दुरूपयोग गरेको आरोप लगाएका छन्। मंगलवार बिहान एक प्रेस कन्फ्रेन्समा कुणाल घोषले भने, शान्त क्षेत्रमा आधा राती केन्द्रिय बलहरूलाई पठाइँदैछ जसबाट सर्वसाधारण मानिसहरूमाझ भयपूर्ण वातावरण सृजना गरिँदैछ। उनले आरोप लगाए, तृणमूल कंग्रेसका बूथ एजेन्ट तथा सक्रिय कार्यकर्ताहरूलाई चुनी-चुनी पक्राउ गर्ने योजना बनाइँदैछ। यसमाथि कटाक्ष गर्दै उनले भने, यदि यस्तै गर्नु छ भने सड़कहरूमा दुई-चार वटा ट्याङ्करलाई पनि तैनाथ गरियोस्, हामी पनि हेर्नेछौं।
कुणाल घोषले यो पनि भने, केन्द्रिय बलले आफ्नो सीमा नाघिरहेको छ र मानिसहरूलाई डर देखाउने, धम्क्याउने काम गरिरहेको छ। उनको आरोप छ, कतिपय क्षेत्रका मानिसहरूलाई केन्द्रिय बलका जवानहरूले भारतीय जनता पार्टी (भाजपा)- लाई भोट दिन समेत भनिरहेका छन्। उनले दाबी गरे, तृणमूल कंग्रेसले रेकर्ड संख्यामा सीट जितेर सत्तामा फर्किनेछ अनि मुख्यमन्त्री ममता ब्यानर्जीले चौथो पटक राज्यको जिम्मेवारी सम्हाल्नेछन्।
उनले कोलकाता बन्दरगाह क्षेत्रमा भाजपा उम्मेद्वार राकेश सिंहको प्रचार अवधि भएको झगड़ाको पनि निन्दा गरे। इकबालपुर क्षेत्रमा भएको उक्त घटनापछि पुलिसले नौजना मानिसहरूलाी पक्राउ गरेको छ जसमा पाँचजना भाजपा कार्यकर्ता रहेको बताइएको छ। यस मामिलामा तीन वटा एफआईआर दर्ता गरिएको छ जसमध्ये दुई वटा राकेस सिंहविरूद्ध छ।
तृणमूल कंग्रेसका नेताहरूको आरोप छ, भाजपाले कंग्रेस र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)-सित मिलेर तृणमूल कार्यकर्ताहरूको सूची बनाएर उनीहरूलाई लक्षित गरिरहेको छ। तृणमूल कंग्रेसले भाजपा नेता प्रलय पालमाथि पनि एकजना महिलासित कथित रूपमा अशोभनीय च्याट गरेको आरोप लगाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा