
गान्तोक, 25 अप्रेल (हि.स.)। दिगो भू-व्यवस्थापन तथा ग्रामीण जीविकोपार्जन सुदृढीकरणतर्फ महत्वपूर्ण पहल स्वरूप वन तथा पर्यावरण विभाग अन्तर्गत सञ्चालन गरिएको बेन्च टेरेसिङ र वृक्षारोपण कार्यक्रमका लाभार्थीहरूलाई आर्थिक सहयोग वितरण कार्यक्रम सोरेङ, दरामदिन र रिन्चेनपोङ निर्वाचन क्षेत्रहरूमा सफलतापूर्वक सम्पन्न गरिएको छ। यस क्रममा सोरेङमा आयोजित कार्यक्रममा आज क्षेत्र विधायक आदित्य गोले मुख्य अतिथिका रूपमा सहभागी भए।
कार्यक्रममा विभिन्न ग्राम पञ्चायत एकाइहरूबाट छनोट भएका लाभार्थीहरूलाई आफ्नै निजी जग्गामा बेन्च टेरेसिङ तथा वृक्षारोपण कार्य सञ्चालन गर्न आर्थिक सहयोग प्रदान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायकले संरक्षणका पहलहरूमा समुदायको सक्रिय सहभागिताको महत्वमा जोड दिंदै यस्ता प्रयासहरूले दीर्घकालीन पर्यावरणीय सन्तुलन तथा आर्थिक सुदृढ़तामा प्रत्यक्ष योगदान पुर्याउने बताए। साथै, राज्य सरकारका सक्रिय नीति तथा वित्तीय सहयोगका कारण यस्ता कार्यक्रमहरू सम्भव भएको भन्दै उनले सरकारको प्रतिबद्धताको प्रशंसा गरे।
यसैगरी, दरिमदिनमा आयोजित कार्यक्रममा विधानसभा अध्यक्ष तथा क्षेत्र विधायक एमएन शेर्पा मुख्य अतिथिका रूपमा सहभागी भए। आफ्नो संक्षिप्त सम्बोधनमा उनले पहाडी भेगमा यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै माटो क्षरण घटाउन, पानीको धारण क्षमता बढाउन र कृषि उत्पादन वृद्धि गर्न मद्दत पुर्याउने बताए। साथै, लाभार्थीहरूलाई यस्ता कार्यक्रमहरू इमानदारी र समर्पणका साथ कार्यान्वयन गर्न उनले आग्रह गरे।
यसरी नै श्रीबदममा आयोजित कार्यक्रममा रिन्चेनपोङका विधायक इरुङ टी. लेप्चा प्रमुख अतिथि थिए। उनले आफ्नो सम्बोधनमा राज्य सरकारले यस्ता आर्थिक रूपमा उपयोगी र पर्यावरणमैत्री कार्यक्रमहरू अघि बढाएकोमा सराहना व्यक्त गरे। पहिलो चरणमा सोरेङबाट ५०, दरामदिनबाट ५१ र रिन्चेनपोङबाट २० जना लाभार्थीहरूले आर्थिक सहयोग प्राप्त गरेका छन्। बाँकी लाभार्थीहरूलाई विभिन्न ग्राम पञ्चायत एकाइहरूमा चरणबद्ध रूपमा सहयोग उपलब्ध गराइने जिल्ला वन अधिकृत (वन्यजन्तु) ले जानकारी दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल