
कोलकाता, 25 अप्रेल (हि.स.)। पश्चिम बङ्गालको बाँकुड़ा जिल्लामा मतदान ड्यूटी गर्ने एकजना बूथ स्तरीय अधिकारी शम्पा लाई प्रमानिकको मृत्यु भयो। परिवारले आरोप लगाएका छन्, मतदानको दिन चर्को घाम र प्रचण्ड गर्मीमा पनि उनलाई दिनभरि बाहिरै बसेर काम गर्नुपऱ्यो जहाँ पिउने पानी र आवश्यक सुविधाको व्यवस्था थिएन।
जानकारी अनुसार शम्पा प्रमानिक गत 23 अप्रेलको दिन बाँकुड़ा विधानसभा क्षेत्रको बाँकुड़ा टाउन बोइज हाई स्कूलस्थित 87 नम्बर बूथमा ड्यूटी गरिरहेकी थिइन्। परिवारको भनाइ छ, दिनभरि चर्को घाममा बसको र पर्याप्त पिउने पानी नपाएको कारणले उनको स्वास्थ्य प्रभावित भएको थियो। मतदान कार्य समाप्त भएर घरमा आएदेखि उनलाई कैयौं पटक वान्ता भयो।
परिवारजनले बताए, घरमा प्राथमिक उपचार भइरहेको थियो, तर शनिवार बिहान उनको अवस्था झन् बिग्रियो जसपश्चात उनलाई अस्पतालमा लगियो, तर बाटोमै उनको मृत्यु भयो।
मृतकाका पति प्रसेन्जित प्रमानिकले आरोप लगाए, चुनाउ आयोगको पक्षबाट न कुनै ओआरएस दिइयो, न त पिउने पानीको समुचित व्यवस्था नै गरिएको थियो। उनले भने, ड्यूटी पूरा गरेपछि उनकी पत्नी गम्भीर रूपमा बिमार भएकी थिइन्।
शम्पाकी सहकर्मी रिङ्कु राय चन्दले पनि आरोप लगाइन्, मतदान कर्मीहरूप्रति अमानवीय व्यवहार गरियो। प्रचण्ड गर्मीमा पर्याप्त सहायता बिनै काम गराइयो भने कतिपय स्थानहरूमा केन्द्रिय बलहरूको व्यवहार पनि उचित थिएन।
घटनापछि स्थानीय स्तरमा असन्तोष बढ़ेको छ। परिवार अनि सहकर्मीहरूले मामिलाको जाँच तथा यसको निम्ति जिम्मेवार मानिसहरूमाथि कारबाही गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा