
गान्तोक, 30 अप्रेल (हि.स.)। राजधानीस्थित लोकभवनमा आज भारतीय सेनाको गान्तोक आधारित ब्ल्याक क्याट डिभिजन र यसका विभिन्न एकाईहरूलाई लिएर राष्ट्रको सीमाको सुरक्षामा उल्लेखनीय योगदान तथा सामाजिक गतिविधिहरूमा उत्कृष्ट भूमिकाका लागि सेना सम्मान समारोह आयोजना गरियो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको विशिष्ट अतिथि थिए।
यस अवसरमा ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल एम एस राठौर तथा नवनियुक्त जीओसी आशीष नेगी पनि उपस्थित थिए। कार्यक्रममा ब्ल्याक क्याट डिभिजनलाई प्रशस्तिपत्र प्रदान गरेर सम्मानित गरिएको थियो।
राज्यपालले आफ्नो सम्बोधन यो अवसर राष्ट्रप्रतिको प्रेम, पराक्रम र समर्पणको उत्सव रहेको बताए। उनले भने, 'सिक्किम सामरिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण राज्य हो। भारतीय सेना 'सेना परमो धर्म' को आदर्शमा जिउँछ। सिक्किममा भारतीय सेनाले सुरक्षासँगै विकास क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेको छ।'
राज्यपालले रणभूमि दर्शनअन्तर्गत नथूला, बाबा हरभजन सिंह मन्दिर, चोला, सिक्किम प्रेरणा स्थल र डोका लाजस्ता स्थानहरूमा भएका विकास कार्यहरूको प्रशंसा गर्दै भने, 'यी प्रयासहरूले पर्यटक सङ्ख्या बढाएको छ र मानिसहरू हाम्रो देशको गौरवशाली इतिहाससँग परिचित हुँदै गएका छन्।' उनले अपरेसन हिमराहत र अपरेसन सद्भावनाअन्तर्गत गरिएका कार्यहरूको पनि प्रशंसा गरे। उनले सम्मानित सबैलाई बधाई र शुभकामना दिए।
लोक भवनका अनुसार, नथूला, बाबा हरभजन सिंह मन्दिर, चोला, सिक्किम प्रेरणा स्थल र डोका लामा राज्यपालको प्रयासमा सीएसआर पहलअन्तर्गत विकास कार्यहरू भएका छन्, जसले पर्यटकहरूलाई सुविधा प्रदान गरिरहेका छन्।
सेनाका प्रमुख कार्यहरूमा प्रेरणा स्थल र पर्यटन स्थलको विकास, सीमावर्ती गाउँहरूमा जीवनस्तर सुधार, उद्यान र राष्ट्रिय झण्डाको स्थापना, सांस्कृतिक पहल तथा विशेष कार्यक्रमहरूको आयोजना, सुपर कार र्यालीजस्ता पर्यटन प्रवर्द्धन गतिविधिहरू, धार्मिक स्थलहरूको विकास र प्रतिमा स्थापना, हरित पहलहरू तथा हाइड्रोपोनिक परियोजना, सैन्य-नागरिक एकीकरण कार्यक्रम र नागरिक रक्षा व्यवस्था, तथा अपरेसन हिमराहतद्वारा पर्यटकहरूलाई राहत प्रदान गर्नु समावेश छन्।
कार्यक्रममा सेनाका अधिकारीहरू, मुख्यमन्त्री कार्यालयका अधिकारीहरू र सेनाका जवानहरूको पनि उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल