
गान्तोक, 08 अप्रेल (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज राजधानीस्थित नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजीको तत्वावधानमा आयोजित 'एलेक्जेन्ड्रा डेविड- नील: ए जर्नी इन्टू बौद्धिज्म' प्रदर्शनीको उद्घाटन गरे। उनले एलेक्जेन्ड्रा डेविड-नीलको जीवन र योगदानमाथि लगाइएको प्रदर्शनी अवलोकन गरे, जसमा उनको 1912-1916 सम्म सिक्किम प्रवासको यात्रालाई प्रदर्शित गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधित गर्दै राज्यपालले भने, यो प्रदर्शनी फ्रान्सेली यात्री र बौद्ध विदुषी एलेक्जेन्ड्रा डेविल नीलको जीवन र उनको योगदानप्रति समर्पित छ, जसको विरासत आज पनि प्रेरणाको स्रोत बनेको छ। उनले एलेक्जेन्ड्रा डेविड नीलले बौद्ध धर्मलाई आफ्ना रचनाहरूको माध्यमद्वारा पश्चिमी जगतसम्म पुऱ्याएको महत्वपूर्ण कार्यमाथि प्रकाश पारे।
राज्यपालले एलेक्जेन्ड्रा डेविड नीलको सिक्किम प्रवासमाथि बोल्दै भने, एलेक्जेन्ड्रा डेविड नीलले आफ्नो सिक्किम प्रवासका क्रममा राजपरिवारदेखि लिएर सर्वसाधारणसम्म सबै वर्गहरूसॅंग संवाद स्थापित गरे। यी वर्षहरूले उनका बौद्ध दर्शन, साधना र तिब्बती भाषाको ज्ञानलाई आकार दियो तथा उनको ल्हासा यात्रा र भावी लेखनको बलियो आधार राख्यो।
उनले केन्द्रिय बजेटमा उत्तर पूर्व भारतको लागि बौद्ध सर्किट विकास योजना घोषणा गरेकोमा भारत सरकारलाई धन्यवाद दिए। उनले भने, यो महत्वपूर्ण पहलले बौद्ध धर्मको प्रचार प्रसारलाई नयॉं गति प्रदान गर्नुका साथै सिक्किम र पूर्वोत्तर राज्यहरूका समृद्ध सांस्कृतिक र आध्यात्मिक धरोहरलाई वैश्विक पटलमा उजागर गर्न सुनौलो अवसर प्रदान गर्नेछ। उनले प्रदर्शनीलाई साकार रूप प्रदान गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।
राज्यपालले भने, यो प्रदर्शनी एलेक्जेन्ड्रा डेविड नीलप्रति सम्मानका साथै ती असख्यौं महिलाहरूप्रति पनि सम्मान हो, जसले बौद्धिक, सांस्कृतिक र आध्यात्मिक क्षेत्रलाई समृद्ध गरेका छन्। उनले यो प्रदर्शनीले हरेक आगन्तुकलाई प्रेरित गर्नेछ र भावी पीढीलाई आफ्नो विरासतको संरक्षण र संवर्धनको लागि प्रोत्साहित गर्ने आशा व्यक्त गरे।
यस अवसरमा भारतमा फ्रान्सका राजदूत डा. थियरी माथू, भारतमा बेल्जियमका राजदूत डिडिएर वान्डरहासेल्ट, भारतमा स्विट्जरल्याण्डकी राजदूत माया तिस्साफी, भूटान राजपरिवारकी आशी केसाङ वाङ्गमो वाङ्गचुक, फ्रान्सका महावाणिज्य दूत, कोलकाता थियरी मोरेल, भारतमा फ्रेन्च इन्स्टीट्यूटका निदेशक ग्रेगर ट्रुमेल, नामग्याल इन्स्टीट्यूट अफ् टिबेटोलोजीका निदेशक डा. पासाङ डी. फेम्पु, प्रदर्शनी क्यूरेटर डा. अन्ना बालिकची तथा अन्य गणमान्य अतिथिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल