
खरसाङ, 19 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को आयोजनामा आज खरसाङमा विजय उत्सव मनाउँदै बिजय ऱ्यालीको आयोजना गरियो। उक्त बिजय ऱ्याली खरसाङको टुरिस्ट लजबाट शुरु भएर राष्ट्रिय राजमार्ग 110 हुँदै अस्पताल मोडबाट हिल कार्ट रोड भएर खरसाङ बजार परिक्रमा गर्दै मोटर स्ट्याण्डसम्म पुग्यो।
मोटर स्ट्याण्डमा पुगेर बिजय ऱ्याली पथ सभामा परिणत भयो। विजय ऱ्यालीमा दार्जिलिङका सांसद राजु विष्ट, खरसाङका नवनिर्वाचित विधायक सोनाम लामा, भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए।
हालैमा सम्पन्न भएको विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिका जनताले भाजपा उम्मेदवारलाई भारी मतले विजयी बनाएकोमा खरसाङका जनतालाई धन्यवाद ज्ञापन गर्न बिजय ऱ्यालीको आयोजना गरिएको थियो। सांसद विष्ट, नवनिर्वाचित विधायक लामा र भाजपा जिल्ला अध्यक्ष लामाले खरसाङका जनतालाई अभिवादन गर्दै धन्यवाद दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक