
खरसाङ, 19 मई (हि.स.)। खरसाङका नवनिर्वाचित भाजपा विधायक सोनाम लामाले हालैमा सम्पन्न भएको विधानसभा चुनाउमा व्यापक समर्थन गरी जिताएकोमा खरसाङका जनतालाई धन्यवाद दिएका छन्। खरसाङमा आज आयोजित विजय उत्सव ऱ्यालीको माध्यमबाट उनले सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिए।
विधायक लामाले मोटर स्ट्याण्डमा आयोजित पथसभालाई सम्बोधन गर्दै भने, 'म भाजपाको मात्र विधायक होइन, तर म सबै गठबन्धन दलकहरु र सम्पूर्ण खरसाङका जनताको विधायक हुँ। म सम्पूर्ण खरसाङको जनताको लागि काम गर्न तयार छु।'
उनले आफ्नो सम्बोधनमा भने, 'पहिलेको स्थिति अर्कै थियो। घरबाट निस्कन्दा पनि डर हुन्थ्यो र घरदेखि पोलिङ बुथसम्म पुग्दा कसैसित बोल्नु पनि डर थियो। तर अहिले स्थिति परिवर्तन भएको छ। अहिले सम्पूर्ण बंगाल नै परिवर्तन भएको छ।'
विधायक सोनाम लामाले खरसाङमा ड्रग्सको व्यापार रोकिनु पर्छ भन्दै यसको लागि पुलिस प्रशासनले काम गर्नुपर्ने माग गरे। लामाले भने, 'पञ्चायत व्यवस्थामा जुन भ्रष्टाचार भएको छ, त्यसलाई देखेर पनि केही गर्न सकेका थिएनौं। म सबैतिर पुग्न नसके पनि सबैले साइलेन्ट रुपमा भोट दिएर जिताएर परिवर्तन गराउनु भएको छ।'
---------------
हिन्दुस्थान समाचार / हनोक