गोर्खा जातिलाई न्याय दिने भाजपा र मोदी सरकार हो: सांसद विष्ट
Raju bist


खरसाङ, 19 मई (हि.स.)। 'यो जीत भाजपाको मात्र होइन, सम्पूर्ण पहाड र गोर्खा जातिको जीत हो। आज खरसाङको जनतालाई नमन गर्न आएको हुँ। यो जीत खरसाङको जनतालाई समर्पित गर्न चाहान्छु।' उक्त कुरा दार्जिलिङका सांसद एवं भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता राजु विष्टले भनेका हुन्।

उनले खरसाङमा आयोजित विजय उत्सव ऱ्यालीपछि खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न पथसभालाई सम्बोधन गर्दै उक्त कुरा भने। सांसद विष्टले आफ्नो सम्बोधनमा गोर्खा जातिलाई मास्न खोज्ने, गोर्खा जातिलाई हेप्ने, अन्याय र अत्याचार गर्ने ममताको सरकार गएको बताए। उनले भने, 'बोक्सी जस्तो वाणी र बेहुरा भएको ममता र तृणमूलबाट जनता मुक्त भएको छ। अब पहाडले बोक्सी जस्तो व्यवहार भएकोलाई देख्न पर्दैन।'

सांसद राजु विष्टले भने, 'गोर्खा जातिलाई न्याय दिने भाजपा र मोदी सरकार हो। भाजपा सरकारले गोर्खा जातिलाई अवश्य पनि न्याय दिनेछ। यसपाली विधानसभामा पाँचजना गोर्खा विधायकहरु पुगेका छन्। अब जेनजीको समस्या समाधान हुनेछ। चालकहरुको पनि समस्या समाधान हुनेछ। खरसाङ बजारमा व्यापार गर्नेहरुको पनि जीत भएको छ।'

उनले अघि भने, 'अन्यायमाथि न्यायको जीत भएको छ। गोर्खाको स्वाभिमानको जीत भएको छ। पहाडमा भाजपा र मोदीको सरकार छ। अब भ्रष्टाचार बन्द हुन्छ। अब भ्रष्टाचार गर्ने नेताहरूलाई जनताले नै कुट्नेछन्। अब जनताले न्याय पाउनेछ।'

सांसद राजु विष्टले अझ भने, 'खरसाङम ड्रग्सको व्यापार रोकिनुपर्छ। ड्रग्सको व्यापार गर्नेहरु खबरदार। भ्रष्टाचार र ड्रग्सको व्यापार रोकिनुपर्छ। पुलिसले गैर कानुनी काम सबै बन्द गर्नुपर्छ। दुधे र बालासनतिर हुने गैर कानुनी काम रोकिनुपर्छ। पहाडमा कानुनको राज स्थापित हुनेछ।' उनले अब जीटीएको अस्तित्व समाप्त भइसकेको बताउॅंदै सरकारले मिरिक, खरसाङ र कालेबुङ नगरपालिकामा चॉंडै चुनाउ गराउने बताए।

उनले भने, 'स्थायी राजनैतिक समाधानको काम अब शुरु भएको छ। मैले खरसाङ टाउन अघि इन्टरलोक्युटरलाई भेटेर आएको छु। स्थायी राजनैतिक समाधान भनेको संवैधानिक अधिकार हुनेछ। मैले गरेको राजनीति जनताको लागि हो। म मणिपुरमा जन्मेको, दिल्लीमा हुर्केको र पहाड मेरो कर्मथलो हो।'

सांसद राजु विष्टले घोषणा गर्दै खरसाङमा स्पोर्ट्स कम्प्लेक्स बनिने र तीनधारेमा अग्नि शमनको केन्द्र बनिने, वृद्ध भत्ता एक हजारबाट दुई हजार हुने, नारीहरु र युवाहरुले तीन हजार पाउने बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande