
काठमाडौैं, 19 मई (हि.स.)। नेपालको पूर्वी झापास्थित मेचीनगरको काँकडभिट्टा सीमा क्षेत्रमा सशस्त्र पुलिस बल र भन्सार कार्यालयको संयुक्त टोलीले ५७० ग्राम सुन, २० हजार अमेरिकी डलर तथा अन्य विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सशस्त्र पुलिस बल नेपालका अनुसार, भारतबाट सिटी सफारी वाहनमार्फत नेपाल प्रवेश गर्दै गरेका भारत निवासी ३९ वर्षीय परम पाठकलाई विशेष सूचनाको आधारमा मंगलबार बिहान जाँचका क्रममा पक्राउ गरिएको हो।
उनको साथबाट ५७० ग्राम सुन, २० हजार अमेरिकी डलर तथा ८५ हजार ४१० भारतीय रुपियाँ बरामद गरिएको छ। साथै एउटा भारतीय आधार कार्ड, दुई मोबाइल फोन, एक हार्ड डिस्क, एक ब्याङ्क चेक तथा सातवटा सिम कार्ड पनि फेला परेको बताइएको छ।
सशस्त्र पुलिसका प्रवक्ता तथा नायब महानिरीक्षक बिष्णु प्रसाद भट्टले पक्राउ परेका पाठकलाई बरामद सामग्रीसहित मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जानकारी दिएका छन्।
उनी कुन उद्देश्यले नेपाल प्रवेश गरिरहेका थिए भन्ने विषयमा हाल अनुसन्धान जारी रहेको जनाइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल