
गान्तोक, 19 मई (हि.स.)। सिनाल्चू फुटबल क्लबले सिक्किम प्रीमियर लीग (एसपीएल) सीजन-4 को उपाधि आफ्नो नाम गरेको छ। राजधानीको पाल्जोर स्टेडियममा सोमवार राति खेलिएको फाइनलमा सिनाल्चु फुटबल क्लबले प्रतिद्वन्दी सिङलिङ स्पोर्टिङ क्लबलाई पराजित गऱ्यो।
फाइनलमा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। यस अवसरमा उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवं हरिद्वारका सांसद त्रिवेन्द्रसिंह रावत र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए. मुहम्मद मुश्ताक पनि उपस्थित थिए। स्टेडियममा फुटबल प्रेमीहरूको व्यापक उपस्थिति रहेको थियो।
फाइनलमा सिङलिङ स्पोर्टिङ क्लब र सिनाल्चू फुटबल क्लबबीच रोमाञ्चक खेल भयो, जसमा खेलाडीहरूले उत्कृष्ट खेल कौशल र खेल भावना प्रदर्शित गरेका थिए। पहिलोपल्ट फाइनलमा पुग्न सफल सिनाल्चू फुटबल क्लबले प्रतिद्वन्दी दललाई पराजित गरेर एसपीएल सीजन फोरको उपाधि जित्यो। मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीद्वारा विजेता र उपविजेता दललाई ट्रफी र पुरस्कार राशि प्रदान गरियो।
राज्यपाल माथुरले हर्ष व्यक्त गर्दै सिक्किमका युवा प्रतिभाहरू फुटबलको क्षेत्रमा निरन्तर उत्कृष्टतातिर अग्रसर बनिरहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल