
गान्तोक, 02 मई (हि.स.)। गान्तोक नगर निगम (जीएमसी) अन्तर्गत नव-नवनिर्वाचित पार्षदहरूको परिषद् गठन तथा शपथ ग्रहण समारोह आज देवरालीस्थित जीएमसी भवनको नयाँ सम्मेलन कक्षमा सम्पन्न भयो। शपथ ग्रहण समारोहमा जीएमसीका कुल २० जना नव-निर्वाचित पार्षदहरूको उपस्थिति रहेको थियो।
गान्तोक जिल्लाका नगरपालिका निर्वाचन अधिकृत तुषार जी निखारेले नव-निर्वाचित पार्षदहरूलाई शपथ दिलाए। यस अवसरमा स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जीटीए ढुङ्गल, शहरी विकास तथा आवास विभाग मन्त्री अरुण कुमार उप्रेती, विधायक दिले नामग्याल बर्फुङ्पाल, विधायक कला राई, विधायक तेन्जिङ नर्बु लाम्था, शहरी विकास विभागका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे लगायत सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।
जीएमसीको मेयर पदका लागि प्रस्ताव पारित गर्ने क्रममा वडा नम्बर ०९ की पार्षद छिरिङ पाल्देन भोटियाको नाम प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावलाई सबै पार्षदहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि उनी जीएमसीकी नयाँ मेयर निर्वाचित भइन्।
यसैगरी, जीएमसीको उपमेयर पदका लागि वडा नम्बर १२ की पार्षद सारा लामाको नाम प्रस्ताव गरियो। उक्त प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित भयो र उनी जीएमसीकी नयाँ उपमेयर निर्वाचित भइन्।
आयुक्त एवं सचिव राजेशले सिक्किम सरकारको तर्फबाट नव-निर्वाचित पार्षदहरूलाई बधाई ज्ञापन गरे। पार्षदहरूले जनताको सेवा गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने बताउँदै आगामी दिनहरूमा पूर्ण निष्ठा र इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्न उनले आग्रह गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल