
गान्तोक, 25 मई (हि.स.)। नेपाली साहित्य परिषद्, सिक्किमको आयोजनामा गत 23 मईका दिन वरिष्ठ साहित्यकार, गम्भीर चिन्तक तथा विशिष्ट स्रष्टा चक्रपाणि भट्टराईद्वारा रचित बहुचर्चित कृति “बाघको दूध” (भाग-तीन) को भव्य लोकार्पण तथा चर्चा-परिचर्चा कार्यक्रम परिषद्को प्रेक्षागृहमा सम्पन्न भयो। यस साहित्यिक समारोहका मुख्य अतिथि वरिष्ठ साहित्यकार केएन शर्मा रहेका थिएभने कार्यक्रमको सभाध्यक्षता परिषद्का अध्यक्ष हरि ढुङ्गेलले गरेका थिए।
कार्यक्रममा प्राध्यापक डा. टीबी क्षेत्री, डा. मनोरथ दाहाल, डा. सूचन प्रधान र साहित्यकार विमल काफ्ले लगायतका विद्वान वक्ताहरूले कृतिमाथि गहन समीक्षा तथा विश्लेषण प्रस्तुत गर्दै “बाघको दूध सबैले पिउनुपर्ने कृति हो” भन्ने धारणा व्यक्त गरेका थिए। उनीहरूका अनुसार, उक्त कृति साहित्यिक सिर्जना मात्र नभई समाज, समय, विचार र मानवीय चेतनाको गहन दस्तावेजका रूपमा स्थापित भएको छ।
मुख्य अतिथि केएन शर्माले आफ्नो मन्तव्यमा नेपाली साहित्यलाई जीवन, समाज र समयसँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याउँदै “बाघको दूध” ले पाठकलाई गम्भीर चिन्तन, आत्ममन्थन र वैचारिक जागरणतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे। सभाध्यक्ष हरि ढुङ्गेलले, परिषद्ले नेपाली भाषा-साहित्यको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका निम्ति यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए।
लोकार्पित कृतिका स्रष्टा चक्रपाणि भट्टराईले आफ्नो मन्तव्यमा “बाघको दूध” आफ्नो दीर्घ साहित्यिक साधना, अध्ययन, अनुभूति र समाजप्रतिको उत्तरदायित्वको प्रतिफल भएको उल्लेख गरे। उनले साहित्य केवल मनोरञ्जनको माध्यम नभई चेतना, प्रश्न र परिवर्तनको आधार बन्नुपर्ने धारणा राख्दै पाठकहरूको माया र समीक्षकहरूको मूल्याङ्कनप्रति आभार व्यक्त गरे।
परिषद्को प्रेक्षागृहमा सम्पन्न उक्त कार्यक्रममा सिक्किम राज्यका प्रतिष्ठित तथा दक्ष साहित्यकार, कवि, कथाकार, समालोचक, शिक्षाविद्, साहित्यप्रेमी तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा परिषद्का महासचिव भीम रावतले स्वागत मन्तव्य राख्दै साहित्य समाजको आत्मा भएको उल्लेख गरे। कार्यक्रममा बाल तथा प्रौढ स्रष्टाहरूबाट कविता वाचन पनि गरिएको थियो, जसले समारोहलाई थप सृजनात्मक, जीवन्त र भावनात्मक बनाएको परिषद्का प्रचार प्रसार सचिव हेमराज अधिकारी प्रेस विज्ञप्तिमा बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल