
गान्तोक, 25 मई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले राज्यमा कथित इन्धन आपूर्ति अवरुद्ध भएपछि उत्पन्न वर्तमान अवस्थाको सम्बन्धमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीलाई पत्र पठाएको छ। उक्त जानकारी आज सीएपीले प्रेस विज्ञप्तिमा दिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'सीएपी उपाध्यक्ष किरण जिम्बा, प्रवक्ता अल्बर्ट गुरुङ, गान्तोक जिल्ला अध्यक्ष ललित गुरुङ र नाम्ची सिङ्गीथाङ एसीईसु अध्यक्ष सोनाम वाङ्ग्याल भोटियाको प्रतिनिधिमण्डलले आज गान्तोक मुख्य डाँक मुख्य कार्यालयमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रिय पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीलाई सिक्किममा इन्धन आपूर्ति अवरुद्ध भएपछि उत्पन्न वर्तमान अवस्था तथा एसकेएम सरकारले लागू गरेको अर्ध-लकडाउन सम्बन्धी आधिकारिक पत्र पठाएको छ।'
उक्त पत्रमार्फत प्रतिनिधिमण्डलले प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयलाई विषयको तत्काल संज्ञान लिनुका साथै सिक्किमका जनताको हितमा यथाशीघ्र हस्तक्षेप गर्न आग्रह गरेको छ। सीएपीले प्रशासनिक कमजोरीका कारण सर्वसाधारण जनताले दुःख भोग्न नपरोस् भन्ने कुरामा विशेष चिन्ता व्यक्त गरेको छ।
प्रतिनिधिमण्डलले सिक्किमका जनताको कल्याण, सम्मान तथा दैनिक जीवनलाई सर्वोच्च प्राथमिकतामा राखिनुपर्ने कुरामा जोड दिँदै जनतालाई कुनै असुविधा नहोस् भनी सामान्य अवस्था पुनःस्थापित गर्न आवश्यक सबै कदम चालिनुपर्ने बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल