
गान्तोक, 26 मई (हि.स.)।सिक्किमका मुख्य सूचना आयुक्त कुबेर भण्डारीले २६ मई, २०२६ मा नयाँ दिल्लीस्थित केन्द्रिय सूचना आयोगका मुख्य सूचना आयुक्त राज कुमार गोयलसँग शिष्टाचार भेट गरे।
भेटका क्रममा सूचना अधिकार ऐनसम्बन्धी जनचेतनामूलक गतिविधिहरूलाई सुदृढ़ बनाउने तथा भिडियो सम्मेलनमार्फत सञ्चालन हुने अनलाइन सुनुवाईद्वारा न्यायमा पहुँच अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको विज्ञप्तिमा उल्लेख छ।
केन्द्रिय सूचना आयोग, दिल्लीका मुख्य सूचना आयुक्तले भण्डारीलाई भिडियो सम्मेलन सुविधामार्फत सञ्चालन भइरहेको अनलाइन सुनुवाई प्रक्रिया अवलोकन गर्ने अवसर पनि प्रदान गरे।
सिक्किमका मुख्य सूचना आयुक्तले परम्परागत खादा अर्पण गर्दै मुख्य सूचना आयुक्तप्रति शुभकामना व्यक्त गरे। साथै, केन्द्रिय सूचना आयोगका मुख्य सूचना आयुक्तले सद्भावना तथा सहकार्यको प्रतीकस्वरूप सिक्किमका मुख्य सूचना आयुक्तलाई स्मृतिचिन्ह प्रदान गरे।
यस अन्तरक्रियाले प्रविधिको व्यापक प्रयोग तथा जनचेतनामूलक पहलमार्फत पारदर्शिता, जवाफदेहिता र सूचना अधिकार ऐनको प्रभावकारी कार्यान्वयन प्रवर्द्धन गर्ने दिशामा सिक्किम सूचना आयोगको प्रतिबद्धता झल्काएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल