
दक्षिण 24 परगना, 26 मई (हि.स.)। दक्षिण 24 परगना जिल्लाको नरेन्द्रपुर थाना अधिनस्थ रामचन्द्रपुर स्थित एउटा रङ्ग र स्याही बनाउने फ्याक्ट्रीमा मङ्गलवार बिहान भयानक आगो लाग्यो। आगलागी हुनसाथ क्षेत्रमा कोकोहोलो मचियो। फ्याक्ट्रीमा प्रचुर मात्रामा रासायनिक पदार्थ राखिएको कारणले आगो झन् द्रूत गतिमा फैलियो।
सूचना पाएर दमकलका चार वटा वाहनहरूले घटनास्थलमा पुगेर आगो निभाउन शुरू गरे। दमकल कर्मीहरूको कड़ा परिश्रमपछि आगोलाई नियन्त्रण गरियो।
स्थानीय मानिसहरू अनुसार फ्याक्ट्रीमा स्याही बनाउनको लागि विभिन्न प्रकारका रसायन राखिएको थियो। यस्तै रसायनको कारणले आगोले क्षणभरमै विकराल रूप धारण गऱ्यो। पुलिसले बतायो, हाल कुनै पनि प्रकारको मानवीय क्षति भएको सूचना प्राप्त भएको छैन। तर ठूलो नोक्सान भएको आशङ्का व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा