
गान्तोक, 26 मई (हि.स.)। भारत देशकी राष्ट्रपति द्रौपदी मुर्मू आज सिक्किम भ्रमणमा आइरहेकी छन्। उनी आगामी 28 मईसम्म सिक्किम भ्रमणमा रहनेछन्। आफ्नो भ्रमण अवधि राष्ट्रपति सिक्किम विश्वविद्यालयको सातौँ दीक्षान्त समारोह लगायत अन्य महत्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुनेछन्।
भारत देशकी राष्ट्रपति द्रौपदी मुर्मू 26 देखि 28 मईसम्म सिक्किम भ्रमणमा रहनेछन्। उनी बागडोगरा हवाई अड्डाबाट हेलिकप्टरमा राजधानीको लिभिङस्थित भारतीय सेनाको हेलीप्याडमा आउने कार्यक्रम रहेको छ। यहाँबाट उनी लोकभवन प्रस्थान गर्नेछन्।
सरकारी विज्ञप्तिका अनुसार, राष्ट्रपति मुर्मूले सिक्किम भ्रमणको पहिलो दिन, आज राजधानीको देवरालीस्थित नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजीको भ्रमण गर्नेछन्। दोस्रो दिन, 27 मई बिहान उनी भारती-चीन सीमा क्षेत्र नथुला पास भ्रमणमा जानेछन्। सोही दिन दिउँसो उनी सिक्किम विश्वविद्यालयको सातौँ दीक्षान्त समारोहमा सहभागी हुनेछन्।
यसरी नै आफ्नो भ्रमणको अन्तिम दिन, 28 मईमा राष्ट्रपति राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुने भारतका राष्ट्रपतिको 'पुलिस कलर' अलङ्करण समारोहमा भाग लिनेछन्। यो पुरस्कार सिक्किम पुलिसलाई देशमा उत्कृष्ठ सेवा कार्यहरूका लागि प्रदान गरिने छ। यो पुरस्कार प्राप्त गर्ने सिक्किम देशकै 15औं राज्य हो।
---------------
हिन्दुस्थान समाचार / बिशाल