कोलकाता सहित दक्षिण बङ्गालमा हावा-हुन्डरीसितै वर्षा हुने सम्भावना
कोलकाता सहित दक्षिण बङ्गालमा हावा-हुन्डरीसितै वर्षा हुने सम्भावना


कोलकाता, 03 मई (हि.स.)। दक्षिण बङ्गालमा फेरि एकपटक हावा-हुन्डरी र वर्षाको सिलसिला तीव्र हुने सम्भावना व्यक्त गरिएको छ। मौसम विभागले आगामी 48 घण्टासम्मको लागि कालबैसाखी आउने चेताउनी जारी गरेको छ। गए शनिवार साँझदेखि नै कतिपय जिल्लाहरूमा मेघ गर्जनको साथमा वर्षा अनि तीव्र हावा आएको देख्न पाइयो। आइतवार अझ यसको प्रभाव बढ़ने आशङ्का व्यक्त गरिएको छ।

मौसम विभाग अनुसार पूर्व औ पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद एवं नदिया जिल्लामा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। आइतवार स्थिति झन् बिग्रिनसक्छ। बाँकुड़ा, पूर्व तथा पश्चिम मेदिनीपुर एवं झाड़ग्राम जिल्लामा कालबैसाखी अझ तीव्र हुने सम्भावना छ जहाँ हावाको गति 50-60 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ।

कोलकाता सहित दक्षिण बङ्गालका केही जिल्लाहरूमा दिनभरि आद्रतापूर्व मौसम रहेपछि साँझ वा राती मेघ गर्जनसितै वर्षा हुने अनुमान लगाइएको छ। यस सम्बन्धमा मौसम वैज्ञानिक अन्वेषा भट्टाचार्यले जानकारी गराउँदै भनिन्, बङ्गालको खाड़ीबाट आइरहेको नम हावा र स्थानीय तापमानको कारणले वातावारण अस्थिर भएको छ जसबाट आगामी केही दिनसम्म हुरी-बतासको सिलसिला जारी रहनसक्छ।

यसबीच विधानसभा चुनाउको मतगणना हुने दिन सोमवारको मौसमलाई लिएर विशेष चिन्ता व्यक्त गरिँदैछ। कोलकाता, उत्तर एवं दक्षिण 24 परगना, हावड़ा, हुगली, बर्धमान, बाँकुड़ा र पश्चिम मेदिनीपुरमा कालबैसाखी तीव्र हुने चेताउनी दिइएको छ भने कतिपय स्थानहरूमा हावाको गति 60 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ जसले गर्दा मतगणना केन्द्र बाहिर सुरक्षा तथा आवागमन प्रभावित हुने आशङ्का छ।

मौसम विभाग अनुसार मङ्गलवार पनि राज्यका केही भागहरूमा वर्षा तथा हुन्डरी आउने सम्भावना कायम छ। तथापि यसको तीव्रता अपेक्षाकृत कम रहने अनुमान छ। बुधवारदेखि मौसममा विस्तारै सुधार आउने सङ्केत देखिएको छ।

यता उत्तर बङ्गालमा पनि घना वर्षाको चेताउनी जारी गरिएको छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार तथा कुचबिहारका कतिपय क्षेत्रहरूमा 70-110 किलोमीटरसम्म वर्षा हुनसक्छ। मालदामा सोमवार अनि मङ्गलवार हावा-हुन्डरीको प्रभाव अधिक रहने सम्भावना व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande