
गान्तोक, 03 मई (हि.स.)। सिक्किममा पत्रकारहरूको शीर्ष सङ्गठन प्रेस क्लब अफ् सिक्किम (पीसीएस) को नयॉं कार्यकारी समिति गठनका लागि आगामी 7 जून, 2026 मा चुनाउ हुने भएको छ। तादोङस्थित पीसीएसको आफ्नो भवनमा आइतवार आयोजित पीसीएसको वार्षिक आम सभामा उक्त निर्णय लिइएको हो। सभामा राजधानी लगायत राज्यका अन्य जिल्लाहरूबाट पनि सङ्गठनका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
पीसीएसको चुनाउ आयोजनका लागि सभाले पत्रकार पुरण तामाङको अध्यक्षतामा चुनाउ समिति गठन गर्ने प्रस्तावलाई अनुमोदन गऱ्यो। अध्यक्ष तामाङले चुनाउ निष्पक्ष एवं स्वतन्त्र रूपमा आयोजन गर्न समितिमा थप सदस्यहरू जोड्ने छन्। यसै क्रममा आजको सभाले पीसीएसका सदस्यहरूका लागि आफ्नो सदस्यता नवीकरण गर्ने अन्तिम मिति 30 मई, 2026 तय गरेको छ। यसपछि, 1 जून, 2026 मा सक्रिय सदस्यहरूलाई लिएर मतदाता सूची जारी गरिने छ।
वार्षिक आम सभामा निर्वतमान महासचिव डिल्लीराम दुलालले पीसीएसका गतिविधिहरूको बारेमा जानकारी साझा गरेका थिए। निवर्तमान कोषाध्यक्ष जगन दाहालले पीसीएसको आय-व्ययमाथि प्रकाश पार्दै वर्तमान वित्तीय अवस्थाबारे सदस्यहरूलाई अवगत गराए।
पीसीएसका निवर्तमान अध्यक्ष भीम राउतले पत्रकारहरूको एकतामाथि जोड दिॅंदै आगामी चुनाउमा सदस्यहरूलाई सक्रिय सहभागिताको निम्ति आह्वान गरे।
सभामा खुल्ला सत्रमा राखिएको थियो, जसमा उपस्थित पत्रकारहरूले आफ्ना शिकायत, गुनासो र सुझाउहरू राखेका थिए।
हिन्दुस्थान समाचार / बिशाल