
मङ्गन, 16 जून (हि.स.)। चुङ्थाङका महकुमा अधिकारी (एसडीएम) अरुण छेत्रीले यस क्षेत्रमा सम्पर्क पुनर्स्थापना गर्ने उद्देश्यले गरिएको प्रयासहरूको प्रगतिको मूल्याङ्कन गर्न 86 आरसीसी, ग्रेफद्वारा लाचेनको तारूम छुमा जारी सड़क पुनर्स्थापना कार्यको निरीक्षण भ्रमण गरेका छन्।
निरीक्षणको क्रममा महकुमा अधिकारीले पुनर्स्थापना कार्यको स्थिति समीक्षा गर्न र धरातलीय स्तरमा सामना गर्नुपरेका चुनौतीबारे छलफल गर्न अफिसर कमाण्डिङ र जीआरईएफका अन्य अधिकारीहरूसँग अन्तरक्रिया गरे।
एसडीएमले पुनर्स्थापना कार्य सहज र तालिकाअनुसार अघि बढ़िरहेको पाए। सड़क सम्पर्क अवरोधका कारण जनताले भोग्नुपरेका कठिनाइलाई ध्यानमा राख्दै एसडीएमले परियोजना समयमै सम्पन्न गर्नुको महत्त्वमा जोड़ दिए।
सीमा सड़क सङ्गठन (बीआरओ)-का अधिकारीहरूले पुनर्स्थापना कार्य तोकिएको समयसीमाभित्र सम्पन्न हुने विश्वास व्यक्त गरे र पहिले दिइएको आश्वासन अनुसार सम्पर्क पुनर्स्थापना गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए।
लाचेनसम्म सड़क सम्पर्क यथाशीघ्र सुचारू गर्न जिल्ला प्रशासनले पुनर्स्थापना कार्यको प्रगतिलाई नजिकबाट निगरानी गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल