
गान्तोक, 16 जून (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा सिक्किमका हालैमा भर्ना भएका अग्निवीरहरूसॅंग भेट गरे। यस अवसरमा उनले अग्निवीरहरूको लागि सिक्किम पुलिस भर्तीमा २०% आरक्षण प्रदान गर्ने सरकारको नीतिको बारेमा जानकारी गराए।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा अग्निपथ योजना अन्तर्गत सिक्किमले अहिलेसम्मकै उच्च भर्ती हासिल गरेको जानकारी गराउॅंदै खुशी व्यक्त गरेका छन्। उनले सिक्किमबाट कुल १०५ जना युवा अग्निवीरको रूपमा सामेल भएको र उनीहरूले आगामी चार वर्ष गर्व, प्रतिबद्धता र सम्मानका साथ राष्ट्रको सेवा गर्नेछन् भनी उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले सबै भर्ती हुने युवाहरूलाई आगामी यात्राको लागि हार्दिक शुभकामना व्यक्त गरे र उनीहरूलाई अनुशासन, समर्पण र सेवाको उच्चतम मापदण्डहरू कायम राख्न प्रोत्साहित गरे। उनले अग्निवीरको रूपमा युवाहरूले राष्ट्रको शक्ति र प्रगतिमा योगदान पुर्याउँदै सिक्किमको भावना, आकांक्षा र मूल्यमान्यता बोकेको अवगत गराए। उनले युवाहरूको प्रतिबद्धता र अनुकरणीय सेवाले सिक्किम र देश दुवैलाई गौरवान्वित तुल्याउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्रीले युवाहरूलाई चार वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न भएपछि अग्निवीरहरूको लागि सिक्किम पुलिस भर्तीमा २०% आरक्षण प्रदान गर्ने सरकारको नीतिको बारेमा पनि जानकारी गराए। यस नीतिले राष्ट्रप्रतिको उनीहरूको सेवालाई समर्थन र मान्यता दिने सरकारको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको उनले बताए।
हिन्दुस्थान समाचार / बिशाल