
गान्तोक, 17 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकार गठन भएको १२ वर्ष पूरा भएको अवसरमा सञ्चालित राष्ट्रव्यापी जनसम्पर्क कार्यक्रमअन्तर्गत श्रम तथा रोजगार तथा सूक्ष्म, लघु एवं मध्यम उद्यम (एमएसएमई) राज्यमन्त्री शोभा करन्दलाजेले आज सिक्किमका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू र परिवारहरूसँग भेटघाट एवं अन्तरक्रिया गरिन्।
यो कार्यक्रम सिक्किमभरि सञ्चालन भइरहेको छ, जसको उद्देश्य विगत १२ वर्षमा केन्द्र सरकारले सञ्चालन गरेका रूपान्तरणकारी पहलहरूबारे जनतालाई जानकारी गराउनु तथा नागरिकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्नु हो।
भाजपा सिक्किमद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, कार्यक्रमअन्तर्गत राज्यमन्त्री करन्दलाजेले आज तादोङको ६ माइलस्थित पद्मश्री सम्मानित स्वर्गीय तुलाराम उप्रेतीको परिवारसँग भेट गरी उनीप्रति श्रद्धाञ्जली अर्पण गरिन्। सिक्किममा “जैविक खेतीका जनक” का रूपमा परिचित तुलाराम उप्रेतीले आठ दशकभन्दा बढी समयसम्म परम्परागत र रसायनरहित खेतीको प्रवर्द्धन गरेका थिए। उनलाई जैविक कृषिमा पुर्याएको योगदानका लागि सन् २०२३ मा पद्मश्री पुरस्कार प्रदान गरिएको थियो।
त्यसपछि मन्त्रीले गान्तोकस्थित सोनी विर्दीसँग भेट गरिन्। माउन्ट जायन विद्यालय समूहका संस्थापक तथा अध्यक्ष विर्दीले सन् २००५ मा जायन किड्जी स्थापना गरी सिक्किममा खेल्दै सिक्ने शिक्षण पद्धति भित्र्याएका थिए। साथै, उनले अनलाइन नीट तथा जेईई कोचिङ र विद्यालय पाठ्यक्रममा वित्तीय साक्षरता समावेश गर्ने जस्ता नवीन पहलहरूको पनि नेतृत्व गरेका छन्।
राज्यमन्त्रीले उद्यमी तथा सामाजिक अभियन्ता शोभा राईसँग पनि अन्तरक्रिया गरिन्। दोस्रो पुस्ताकी उद्यमी शोभा राईले रोजगारी सिर्जना गर्नुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकी छन्। उनले बेकिङ, ब्युटी पार्लर सेवा, चित्रकला तथा अचार निर्माणजस्ता सीप विकाससम्बन्धी निःशुल्क तालिममार्फत सिक्किमका महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्दै आएकी छन्।
यस अवसरमा राज्यमन्त्री करन्दलाजेले अन्य विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूसँग पनि भेटघाट गर्दै आत्मनिर्भर समाज निर्माण, जैविक खेतीको प्रवर्द्धन तथा “विकसित भारत” र “विकसित सिक्किम” को परिकल्पनालाई साकार बनाउन उनीहरूले पुर्याएको योगदानको प्रशंसा गरिन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल