
खरसाङ, 25 जून (हि.स.)। भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई सात वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जिताउने पहाडका गौरवशाली सुपुत्र एवं फुटबल प्रशिक्षक क्रिस्पिन छेत्रीलाई बिहीवार युनाइटेड खरसाङ फुटबल क्लबले भव्य स्वागत जनायो। राष्ट्रिय फुटबल महिला टोलीलाई सात वर्षपछि साफ महिला च्याम्पियनसीपको उपाधि जिताएर पहिलोपटक घर आएका मुख्य प्रशिक्षक छेत्रीलाई आज बाघडोगरा हवाई अड्डामा भव्य स्वागत जनाइएको थियो।
यस अवसरमा युनाइटेड खरसाङ फुटबल क्लबका सदस्यहरु र पदाधिकारीहरु, केएफएका सदस्यहरु मार्शल आर्ट एण्ड फिटनेस अकादमी, खरसाङ बडी बिल्डिङ अनि फिटनेस एसोसिएसनका सदस्यहरुले छेत्रीलाई स्वागत जनाए। उनलाई बाघडोगरा हवाई अड्डाबाट स्वागत जनाइपछि गाडीधुरा र रोहिणी साथै खरसाङमा पनि स्वागत गरियो।
मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले आफ्नो ठाउँमा आफ्नोहरुले स्वागत गर्दा मनमा खुशी लाग्दो रहेछ भनी बताए। आफुलाई भव्य स्वागत जनाएकोमा उनले खरसाङका सबै संघ संस्थाहरुलाई धन्यवाद दिए।
बिहीवार साँझ खरसाङ आइपुग्दा उनलाई खरसाङको रेलवे स्टेशन परिसरमा खरसाङका विभिन्न खेलकूद संघ संस्थाहरुले भव्य स्वागत जनाए। उनलाई स्वागत जनाउन खरसाङ महकुमा खेलकूद संघ, गोर्खा सांस्कृतिक संस्थान् खरसाङ लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित थिए।
हिन्दुस्थान समाचार / हनोक