
गान्तोक, 25 जून (हि.स.)। भाजपा सिक्किम महिला मोर्चाकी अध्यक्ष तथा गान्तोक नगरपालिका पार्षद सिर्जना छेत्रीले आज केन्द्रिय महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीलाई नयाँ दिल्लीस्थित उनको निवासमा भेटेर सिक्किमका लागि विभिन्न महिला-केन्द्रित कल्याण र विकास पहलहरूको बारेमा विस्तृत छलफल गरिन्। उक्त जानकारी आज एक प्रेस विज्ञप्तिमा दिइएको छ।
बैठककका क्रममा छेत्रीले मन्त्रालयका प्रमुख योजनाहरू, महिला सुरक्षा, सशक्तिकरण, पोषण र जीविकोपार्जनका सम्बन्धित पहलहरूको बारेमा बढी जागरूकता र प्रभावकारी कार्यान्वयनको आवश्यकतामाथि प्रकाश पारिन्। उनले महिला, बालबालिका र समाजका कमजोर वर्गहरूलाई फाइदा पुर्याउन शहरी र नगरपालिका क्षेत्रहरूमा उपयुक्त योजना र कार्यक्रमहरू विस्तार गर्ने दायराबारे पनि छलफल गरिन्।
उनले सिक्किममा महिलाहरूले सामना गरिरहेका विभिन्न चुनौतीहरूको बारेमा मन्त्रीलाई अवगत गराइन् र महिला सुरक्षा, क्षमता निर्माण, सीप विकास, उद्यमशीलता र सामाजिक कल्याण हस्तक्षेपका लागि मन्त्रालयबाट थप सहयोगको माग गरिन्। उनले मन्त्रीलाई सिक्किम भ्रमण गर्न र महिला लाभार्थीहरू, सरोकारवालाहरूसँग अन्तरक्रिया गरेर महिला मोर्चा संगठनलाई सुदृढ पार्न हार्दिक निमन्त्रणा पनि दिइन्।
उनले भनिन्, यो भ्रमणले राज्यमा महिला उन्मुख कार्यक्रमहरूलाई प्रवर्द्धन गर्न र तल्लो तहको संलग्नता र महिला सशक्तिकरण पहलहरूलाई अझ बलियो बनाउन मद्दत गर्नेछ। उनले बैठक सकारात्मक रूपमा समाप्त भएको बताउॅंदै मन्त्रीले सिक्किममा महिला र बालबालिकाको कल्याण र सशक्तिकरणको लागि निरन्तर समर्थन र सहयोगको आश्वासन दिएको बताएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल