सिक्किमका विभिन्न लेप्चा सङ्गठनहरूको समन्वय बैठक सम्पन्न
Lepcha organisation


गान्तोक, 25 जून (हि.स.)। सिक्किमका विभिन्न लेप्चा सङ्गठनहरूको समन्वय बैठक हालै राजधानीको डेभलपमेन्टस्थित कुर्मोम लीमा सम्पन्न भयो। उक्त बैठकमा रेन्ज्योङ मुताञ्ची रोङ तार्जुम (आरएमआरटी), रेन्ज्योङ मुताञ्ची रिङमोम कुर्मोम (आरएमआरके) तथा सिक्किम लेप्चा युथ एसोसिएसन (एसएलवाईए) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार कुङ्गा नीमा लेप्चाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा वरिष्ठ प्रशासकहरू, विभिन्न जिल्लाका लेप्चा सङ्घ-संस्थाका प्रमुख कार्यकारी सदस्यहरू तथा लेप्चा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकले सहभागी सङ्गठनहरूबीच संवाद र समन्वयको महत्वपूर्ण मञ्चको रूपमा कार्य गर्दै लेप्चा समुदायको कल्याण तथा विकाससँग सम्बन्धित विषयहरूमा एकता सुदृढ़ गर्ने, सहकार्य अभिवृद्धि गर्ने तथा सामूहिक रूपमा कार्य गर्ने उद्देश्य राखेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

तीनवटै सङ्गठनबीच अझ सुदृढ़ समन्वय र सहकार्य कायम गर्ने विषयमा छलफल हुनुका साथै बैठकले रेन्ज्योङ मुताञ्ची रोङ तार्जुम (सिक्किम लेप्चा एसोसिएसन) केन्द्रिय कार्यकारी निकायको गठन तथा केही नयाँ पदाधिकारीहरूको मनोनयन समेत गरेको थियो। यसलाई सङ्गठनात्मक संरचना मजबुत बनाउने तथा लेप्चा समुदायको हितका लागि सञ्चालन गरिने कार्यक्रम तथा पहलहरूमा सामूहिक सहभागिता बढाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

नवनिर्मित आरएमआरटीको केन्द्रिय कार्यकारी समितिलाई अनुमोदन प्रदान गर्दै कार्यक्रमका अध्यक्ष कुङ्गा नीमा लेप्चाले सम्पूर्ण टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे। उनले नवगठित शीर्ष निकायलाई समुदायको हित र उन्नतिको लागि नयाँ उत्साह, समर्पण र प्रतिबद्धताका साथ कार्य गर्न आग्रह गरे।

उनले आगामी पुस्ताका लागि क्षमता अभिवृद्धि गर्न सम्पूर्ण लेप्चा सङ्घ-संस्था तथा लेप्चा नागरिक समाजका सदस्यहरूले एकताबद्ध भएर कार्य गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, समुदायलाई सशक्त बनाउने तथा यसको भविष्यलाई अझ मजबुत बनाउने उद्देश्यका पहलहरूमा आफ्नो पूर्ण सहयोग र मार्गदर्शन रहने विश्वास दिलाए।

छलफलका क्रममा सहभागीहरूले लेप्चा पहिचान, भाषा, संस्कृति, परम्परा तथा समुदायका व्यापक सामाजिक-आर्थिक सरोकारहरूको संरक्षण र प्रवर्द्धनसम्बन्धी विषयहरूमा विचार आदानप्रदान गरेका थिए। लेप्चा समुदायसँग सम्बन्धित चुनौती तथा अवसरहरूलाई सम्बोधन गर्न सामूहिक जिम्मेवारी र समन्वित प्रयासको आवश्यकता रहेकोमा बैठकले जोड दिएको बताइएको छ।

सहभागी सङ्गठनहरूले लेप्चा समुदायको हित तथा आकांक्षाको संरक्षणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याए। साथै सबै सरोकारवालाहरूबीच निरन्तर संवाद र सहकार्य कायम राख्नुपर्ने महत्त्वमाथि जोड दिए। प्रतिनिधिहरूले संस्थागत समन्वय र सामुदायिक सहभागिता अझ सशक्त भएमा लेप्चा सम्पदाको संरक्षण तथा समुदायको दिगो प्रगतिमा महत्वपूर्ण भूमिका निर्वाह हुने धारणा व्यक्त गरे।

रेन्ज्योङ मुताञ्ची रोङ तार्जुमको नवगठित केन्द्रिय कार्यकारी समितिका पदाधिकारीहरूमा अध्यक्ष च्योङ नोर्बु लेप्चा, उपाध्यक्ष-I नाम्ग्याल लेप्चा' उपाध्यक्ष-II कृष्ण लेप्चा, महासचिव-I सुमन लेप्चा, महासचिव-II कर्मा छिरिङ लेप्चा, संयुक्त सचिव कर्मा पिन्त्सो लेप्चा र कोषाध्यक्ष फुतित लेप्चा चयनित भएका छन्।

बैठकले उपाध्यक्ष नोर्जाङ लेप्चा, महासचिव बिदुर रेन्ज्योङ लेप्चा तथा कार्यकारी सदस्यहरू सोनाम डोमा लेप्चा, डिकी ल्हामु लेप्चा, छुङ्किला लेप्चा, डेन्जोङ फोनीङ लेप्चालाई कार्यकारी सदस्यका रूपमा मनोनयन गर्ने निर्णय गरेको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande