नवपथ संघको ४६औँ वार्षिकोत्सवमा विरुवा रोपण, मुखपत्र लोकार्पण तथा मेधावी विद्यार्थी सम्मानित
नवपथ संघको ४६औँ वार्षिकोत्सव


गान्तोक, 25 जून (हि.स.)। सन् १९८० मा स्थापित गैरसरकारी संस्था नवपथ संघले आज आफ्नो ४६औँ वार्षिकोत्सव तथा विश्व पर्यावरण दिवसको लुम्से माध्यमिक विद्यालय परिसरमा विविध कार्यक्रमसहित उत्सव मनायो।

कार्यक्रमको अवसरमा वन विभागद्वारा उपलब्ध गराइएका विभिन्न प्रजातिका बिरुवाहरू रोपेर पर्यावरण संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा क्षेत्र विधायक तथा स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

यस अवसरमा राभाङला सरकारी उच्चत्तर महाविद्यालयबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थी धर्मिका शर्मा तथा लुम्से माध्यमिक विद्यालयबाट नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने स्वप्निल राई र सिदान कुनाललाई संस्थाको तर्फबाट अभिनन्दन गरियो। त्यसैगरी, संघद्वारा प्रकाशित पुस्तक ‘नवपथ’ को विमोचन मुख्य अतिथि र अतिथिहरुको बाहुलीबाट गरियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले उच्चत्तर माध्यमिक परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने धर्मिका शर्मा तथा माध्यमिक तहमा नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउने स्वप्निल राई र सिदान कुनाललाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। उनले विद्यार्थीहरूलाई अङ्ग्रेजी भाषासँगै नेपाली भाषाप्रति पनि समान चासो राख्दै भाषा संरक्षणमा योगदान दिन आग्रह गरे।

मन्त्री ढुङ्गेलले संस्थालाई अझ सशक्त र सक्रिय बनाउन युवापुस्तासँगै अनुभवी व्यक्तिहरूको सहभागिता आवश्यक रहेको उल्लेख गरे। हाल संस्थामा मुख्यतः ज्येष्ठ सदस्यहरूको उपस्थिति रहेको भन्दै युवाहरूको सक्रिय सहभागिताले संस्थालाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे।

यसैक्रममा संघका अध्यक्ष सीके बस्नेतले नवपथ संघको स्थापना सन् १९८० मा भएको जानकारी दिँदै संस्थाले स्थापना कालदेखि नै सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। साथै, सन् २०११ देखि पर्यावरण संरक्षणका क्षेत्रमा विशेष कार्य गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

आजको कार्यक्रममा पार्षदद्वय मिलन गौतम, सोनाम पिन्छो तथा वरिष्ठ साहित्यकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande