क्रामाकपा श्रमिक संगठनले 1955 का शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गऱ्यो
शहीदहरुलाई श्रध्दाञ्जली कार्यक्रम


सोनादा, 25 जून (हि.स.)। क्रामाकपाको श्रमिक संगठन दार्जिलिङ तराई डुर्वस चिया कमान मजदुर युनियनले 72औं शहीद दिवसमा शहीदहरूको स्मरण गरेको छ। 1955 सालमा भएको श्रमिक आन्दोलनमा छजना श्रमिक शहीद भएका थिए। यस अवसरमा कमरेड एनबी प्रधानको अध्यक्षतामा सोनादामा आज एक कार्यक्रम आयोजना गरियो।

25 जून, 1955 सालमा रिङटाङ, मुण्डा, फूलबारी चियाबारीका श्रमिकहरू मार्गरेट्सहोप चियाबारीमा शान्तिपूर्ण रूपमा आफ्ना विभिन्न मागहरू लिएर आन्दोलन गरिरहेका थिए। तत्कालिन शासकले सरकारसित मिलेर शान्तिपूर्ण आन्दोलन गरिरहेका श्रमिकहरूमाथि अन्धाधुन्ध गोली चलाएको थियो, जसमा छजना श्रमिकवर्गको मृत्यु भयो। मृतकहरूमा गर्भवती महिला कमरेड मौली शोभा राइनी, 14 वर्षे किशोर काले लिम्बू, अमृत माया कमिनी, जीतमान तामाङ, पदमबहादुर कामी र कान्छा सुनुवार सामेल थिए।

दार्जिलिङ चियाबारीको श्रमिक इतिहासमा यो दिन स्मरणीय रहेको छ। आफ्नो हक र अधिकारको निम्ति संघर्ष गर्ने श्रमिकवर्गको आन्दोलनलाई मालिकवर्गले दबाउने यो क्रुर र अमानवीय व्यवहारको घटना चियाबारी श्रमिक आन्दोलनमा कालो इतिहास भएर लेखिएको छ।

जनसभालाई सम्बोधन गर्दै क्रामाकपा नेताहरूले भने, श्रमिकहरुको श्रमको मूल्य केवल 250 रुपियाँ छ, यो अति न्यून ज्यालाले कसरी जीवन धान्न सकिन्छ? न्यून ज्याला र बढ्दो महॅंगाईका कारण श्रमिकहरू पलायन हुन बाध्य भइरहेका छन्। पश्चिम बंगालमा भाजपाको नयाँ सरकार गठन पश्चात श्रमिक वर्गको ज्याला वृद्धि, जमीनको मालिकना हक र अन्य सहुलियत चाँडै प्राप्त हुने श्रमिकहरुले विश्वास गरेका छन्।

जनसभा श्रमिक नेता भूपेन छेत्री, महासचिव सुनिल राई, क्रामाकपा उपाध्यक्ष अर्जुन थापा, केन्द्रिय समितिका उपाध्यक्ष आरपी पाख्रीन, क्रामाकपा महासचिव नर्बु लामा, संगठन प्रमुख शेखर छेत्री, क्रामाकपा सोनादा आञ्चलिक कमिटीका सचिव उद्भव खनाल र क्रामाकपा कार्यकारिणी अध्यक्ष बीएम राई आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande