खरसाङ नगरपालिका सञ्चालनको लागि भाजपाद्वारा तीनजना प्रतिनिधिहरु नियुक्त, नगर प्रशासकसित प्रतिनिधिहरुको बैठक सम्पन्न
Bjp kurseong meeting


खरसाङ, 26 जून (हि.स.)। खरसाङ नगरपालिका सञ्चालनको लागि र खरसाङ महकुमा शासकलाई सहयोग गर्न भारतीय जनता पार्टी (भाजपा) को तर्फबाट तीनजना प्रतिनिधिहरु क्रमैले बिनय प्रसाद, रामकृष्ण शर्मा र निशान सुनारलाई नियुक्त गरिएको जानकारी प्राप्त भएको छ। भाजपा खरसाङका प्रतिनिधिहरुसित खरसाङ नगरपालिका प्रशासकको सभा सम्पन्न भएको छ।

शुक्रवार खरसाङमा आयोजित एक पत्रकारमा भाजपाको तर्फबाट रामकृष्ण शर्माले खरसाङ नगरपालिकामा महकुमा शासक एवं नगर प्रशासकलाई सहयोग गर्न सांसद राजु विष्ट, विधायक सोनाम लामा र भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको निर्देशनमा तीनजना प्रतिनिधिहरु चयन गरिएको बताए। तीनजना प्रतिनिधिहरुलाई लिएर गत 25 जून बिहीवार सभा सम्पन्न भएको उनले जानकारी गराए।

उक्त सभामा खरसाङलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको साथै खरसाङको सर सफाई, पिउने पानी, हाउजिङ फर अल विषयमा कुराकानी भएको शर्माले बताए। उनले हाउजिङ फर अल अन्तर्गत 2015 देखि 2025 सम्म के कस्तो काम भयो र किन फण्ड डाइभर्ट भयो अनि कसले गऱ्यो भन्ने विषयमा छानबिन भएर कार्यबाही हुनु पर्ने विषयमा पनि चर्चा गरिएको बताए।

पहिलेको बोर्डले कस्तो प्रकारले काम गरेको थियो र गैर कानुनी रुपमा बिल्डिङ निर्माण साथै सुपर मार्केट र क्लक टावरमा निर्माण गरिएका रुमहरु र यसको राजस्व विषयमा पनि छलफल भएको जानकारी शर्माले बताए। उनले भने, 'हाउजिङ फर अल योजनाका लाभार्थीहरुले रकम पाउनु पर्छ भन्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। साथै वार्ड नम्बर 13 मा गैर कानुनी रुपमा निर्माण गरिएका बिल्डिङ विषयमा पनि चर्चा गरियो।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande