रामायण पाठ प्रतियोगितामा याङथाङ क्षेत्रले गेजिङ जिल्लालाई प्रतिनिधित्व गर्ने
रामायण पाठ प्रतियोगिता


गेजिङ, 29 जून (हि.स.)। गेजिङ जिल्लाको जिल्ला भवनस्थित सभाकक्षमा २१२औँ राष्ट्रिय भानु जयन्ती समारोह सोरेङका निम्ति जिल्ला स्तरीय रामायण पाठ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम जिल्ला प्रशासनिक केन्द्र गेजिङको तत्वावधानमा आयोजना गरिएको हो। कार्यक्रममा गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी डेन्जोङ्पा मुख्य अतिथिका रूपमा उपस्थित थिए।

मुख्य अतिथि डेन्जोङ्पाले आफ्नो मन्तव्यमा सबै प्रतियोगीलाई बधाई दिँदै धन्यवाद व्यक्त गरे। गेजिङ जिल्लालाई प्रतिनिधित्व गर्दै सोरेङ जाने टोलीलाई उनले लगनशीलता, परिश्रम तथा दृढ़ निश्चय गरेर अभ्यास गर्ने सल्लाह दिए।

आफ्नो संस्कृतिलाई नबिर्सी समयसँग अघि बढ्ने सल्लाह दिँदै आउँदो भानु जयन्ती गेजिङ जिल्लामा भव्यताका साथ मनाउने निश्चय गरे।

सिक्किमका प्रत्येक जिल्लाबाट १ सर्वश्रेष्ठ क्षेत्रले सोरेङमा सहभागिता जनाउनु पर्ने हुँदा प्रारम्भिक प्रतियोगितामा गेजिङ जिल्ला अन्तर्गत ४ निर्वाचन क्षेत्रले सह‌भागिता जनाएका थिए। सहभागी निर्वाचन क्षेत्रहरूमा युक्सम टाशीडिङ, याङथाङ, मानेबोङ देन्ताम र गेजिङ बर्मेक रहेका थिए।

उक्त प्रतियोगितामा याङथाङ क्षेत्र प्रथम हुन सफल भयो भने युक्सम टाशीडिङले दोस्रो, मानेबोङ देन्तामले तेस्रो र गेजिङ बर्मेकले चौथो स्थान प्राप्त गरेको छ।

यस प्रतियोगितामा प्रथम हुन सफल बनेको याङथाङ क्षेत्रले आगमी ९ जुलाईको दिन सोरेङमा गेजिङ जिल्लालाई प्रतिनिधित्व गर्नेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande