
बङ्गाईगाउँ (असम), 29 जून (हि.स.)। असमको बङ्गाईगाउँ जिल्लाको जोगीघोपास्थित नारायण सेतु रेल-सह-सड़क पुलमा सोमवार ड्यूटी गर्ने क्रममा एउटा द्रूत गतिको ट्रेनको चपेटमा परी अस्थायी दुई जना रेल श्रमिकहरूको घटनास्थलमै मृत्यु भयो भने दुई जना अन्य गम्भीर रूपमा घाइते भए।
मृतकहरूको पहिचान रेज़ाउल हक र सहर अलीको रूपमा भएको छ। यी दुवै नै जोगीघोपा, भाटीपाराको कोरेया पहाड़ गाउँका निवासी थिए। घाइतेहरूको पहिचन जाकिर हुसैन र इयार आलमको रूपमा भएको छ जसलाई उपचारको लागि ग्वालपारा सिभिल अस्पतालमा भर्ती गरिएको छ।
भनिन्छ, रेल श्रमिकहरूले ब्रह्मपुत्र नदीमा निर्मित 2.3 किलोमीटर लामो नारायण सेतुमा रेलवे ट्र्याकको रखरखावको कार्य गरिरहेका थिए। यो घटना त्यसबेला भएको हो जतिबेला चारै जना श्रमिकहरू पुलमा रेलवे ट्र्याकको किनारमा हिँड़िरहेका थिए। यस अवधि एकैसाथ दुई वटा ट्रेनहरू आए अनि 'अप-लाइन'-मा द्रूतगतिमा आइरहेको मालगाड़ीले कर्मचारीहरूलाई ठक्कर दियो। ठक्कर लागेपछि रेजाउल हक र सहर अलीको घटनास्थलमै मृत्यु भयो भने अन्य दुई जना कर्मचारीहरू गम्भीर रूपमा घाइते भए।
घटनापछि गम्भीर रूपमा घाइते श्रमिकहरूलाई तत्कालै ग्वालपारा सिभिल अस्पतालमा लगियो। सूचना पाएर रेलवे पुलिस तथा पूर्वोत्तर सीमान्त रेलवे (पूसीरे)- का अधिकारीहरूले घटनास्थलमा पुगेर मामिलाको जाँच गरे।
दुर्घटनामा सामेल ट्रेनको विवरण तथा क्षतिपूर्तिलाई लिएर रेलवेको आधिकारिक घोषणाको प्रतीक्षा छ। साथै यस घटनाको रेल परिचालनमाथि परेको प्रभावको पनि मूल्याङ्कन गरिँदैछ।
पूसीरेका एकजना वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अधिक विवरण दिन अस्वीकार गरे। तथापि उनले भने, हाल घटनाको विवरणको प्रतीक्षा गरिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा