
गुवाहाटी, 03 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आफ्नो तीन दिवसीय नयाँ दिल्ली भ्रमणमा केन्द्र सरकारका शीर्षनेताहरूसित 20 वटाभन्दा अधिक महत्वपूर्ण बैठकहरूमा भाग लिए। यी बैठकहरूमा प्रधानमन्त्री, गृहमन्त्री, विदेश मन्त्री तथा डोनर मन्त्री सहित केही वरिष्ठ केन्द्रिय मन्त्रीहरू सामेल थिए।
केन्द्रिय मन्त्री पवित्र मार्घेरिटाले बुधवार बताइन्, मुख्यमन्त्री डा. सरमाले असमको समग्र विकासलाई गति दिने उद्देश्य अन्तर्गत विभिन्न मन्त्रालयहरूसित विस्तृत चर्चा गरे। बैठकहरूमा राज्यमा भइरहेका विकास परियोजनाहरूको प्रगति तथा भविष्यमा शुरू गरिने परियोजनाहरूमाथि विशेष रूपमा विचार-विमर्श गरियो। उनले भनिन्, मुख्यमन्त्री लगातार केन्द्र सरकारसित समन्वय राखेर असमको लागि अधिकभन्दा अधिक विकासमूलक सहयोग सुनिश्चित गर्ने प्रयासमा जुटेका छन्। यस अवधि आधारभूत ढाँचा, निवेश एवं अन्य महत्वपूर्ण क्षेत्रसित सम्बन्धित विषयहरूमाथि पनि चर्चा भयो।
पवित्र मार्घेरिटा अनुसार यी बैठकहरूबाट राज्य अनि केन्द्रबीच सहयोग अझ मजबुत हुनेछ भने असममा विभिन्न विकास परियोजनाहरू शीर्घ क्रियान्वयन हुने मार्ग प्रशस्त हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा