
खरसाङ, 03 जून (हि.स.)। बुधवारदेखि पश्चिम बंगालका महिलाहरुका लागि अन्नपूर्ण योजना शुरुको हुनका साथै मासिक रुपमा 3 हजार रुपियाँ प्रत्येक महिलाको ब्याङ्क खातामा पस्न थालेको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार कोलकाताबाट अन्नपूर्ण योजनाको शुरुवात गरेका थिए।
मुख्यमन्त्रीद्वारा गरिएको यस योजनाको उद्घाटन कार्यक्रम आज भर्चुअल माध्यमबाट खरसाङमा पनि देखाइयो। खरसाङको राज राजेश्वरी हलमा सम्पन्न कार्यक्रमबीच अन्नपूर्ण योजना अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रका एक सय र खरसाङ खण्ड अन्तर्गत रहेका एक सय लाभार्थी महिलाहरुलाई खरसाङ महकुमा शासक प्रिया यादव, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, जोइन्ट बीडीओ देवाशिष मण्डल, खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री, खरसाङका विधायकका प्रतिनिधिद्वय बिनय प्रसाद र सञ्जय थापा आदिको बाहुलीबाट अन्नपूर्ण योजनाको लाभ प्रमाणपत्र वितरण गरियो।
यस अवसरमा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरुका पञ्चायत प्रधानहरु उपस्थित रहेका थिए। यस अन्नपूर्ण योजना अन्तर्गत खरसाङ नगरपालिका क्षेत्रमा अहिलेसम्म 1626 जना र खरसाङ खण्ड अन्तर्गत पर्ने क्षेत्रहरुमा अहिलेसम्म 2835 जना महिलाहरुले अन्नपूर्ण योजनाको फारम भरिसकेको जानकारी प्राप्त भएको छ।
खरसाङको विधायकका प्रतिनिधि बिनय प्रसादले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा पश्चिम बंगालमा भारतीय जनता पार्टीको सरकार गठन भएपछि आफ्नो वाचा अनुरुप महिलाहरुलाई अन्नपूर्ण योजना अन्तर्गत मासिक तीन हजार गरेर सहयोग राशि प्रदान गरिएको छ। उनले सबैलाई अन्नपूर्ण योजनाको फारम भरिदिन अनुरोध पनि गरे।
हिन्दुस्थान समाचार / हनोक