
काठमाडौँ, १४ जुलाई (हि.स.)। नेपालमा लगातार परेको वर्षाका कारण आएको बाढी र पैह्रोले काठमाडौँ जाने अधिकांश वैकल्पिक सडक मार्ग अवरुद्ध भएका छन्। मकवानपुर जिल्ला प्रशासन कार्यालयले हेटौंडा हुँदै काठमाडौँ जाने कान्ति लोकपथ राजमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ। यस राजमार्गका विभिन्न स्थानमा पैह्रो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।
त्यसैगरी हेटौंडा-भैँसे-भीमफेदी सडकखण्डका विभिन्न स्थानमा पनि पैह्रो खसेपछि सबै सवारीसाधनलाई हेटौंडा बजार क्षेत्रमा नै रोकिएको छ। मकवानपुर जिल्ला पुलिस कार्यालयका अनुसार, भैँसे-पालुङ-नौबिसे हुँदै काठमाडौँ जाने सडकमा पनि सवारी आवागमन बन्द गरिएको छ। भैँसेदेखि सिमभञ्ज्याङसम्मका विभिन्न स्थानमा पैह्रोको उच्च जोखिम देखिएकाले यस्तो निर्णय गरिएको हो।
हेटौंड-कुलेखानी–-फाखेल-काठमाडौँ सडक खण्डअन्तर्गत सुकौराको पैह्रो रातारात पन्छाइएको भए पनि निरन्तर जोखिम कायम रहेकाले हालका लागि यस मार्गमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ।
यता हेटौंडा-सिस्नेरी-काठमाडौँ सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका ३ को सिस्नेरी क्षेत्रमा आएको बाढीका कारण यातायात प्रभावित भएको छ। त्यसका कारण त्यहाँ पुगेका सवारीसाधनलाई रातभर रोकेर राखिएको थियो। मकवानपुर पुलिसका प्रवक्ता तथा डीएसपी माधव काफ्लेका अनुसार, मंगलबार बिहानदेखि बीच बाटोमा रोकिएका साना सवारीसाधनलाई सिस्नेरीबाट बिस्तारै गन्तव्यतर्फ पठाउन थालिएको छ।
पुलिसका अनुसार, हाल हेटौंडा र काठमाडौँबीच यात्रा गर्न सिन्धुली र नारायणगढ हुँदै जाने मार्ग मात्र खुल्ला राखिएको छ। यी दुई मार्गबाहेक अन्य सबै सडकमा यातायात पूर्ण रूपमा बन्द गरिएको छ। यद्यपि नारायणगढ-मुग्लिङ सडकखण्डमा पनि पहिरोको जोखिम कायम रहे पनि हालसम्म उक्त मार्गमा सवारी आवागमन रोकिएको छैन।
हिन्दुस्थान समाचार / बिशाल