
खरसाङ, 15 जुलाई (हि.स.)। खरसाङ नगरपालिका वार्ड नम्बर 18 स्थित भानु वेलफेयर अर्गनाइजेसनले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा करवीर चिया बगानमा वृक्षरोपण सम्पन्न गर्यो।अर्गनाइजेसनका सदस्य सरोज चौहानका अनुसार, सन् 2019 जुलाई 13 मा वार्डका महिलाहरूले समाजसेवाको सङ्कल्पका साथ भानु वेलफेयर अर्गनाइजेसनको स्थापना गरेका थिए।स्थापनाकालदेखि नै संस्थाले स्वास्थ्य सेवा, वार्ड सरसफाई, जनचेतनामूलक कार्यक्रमहरूका साथै वार्षिक रूपमा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको छ। चौहानले विगतमा रोपिएका फलफूलका बिरुवाहरू हाल राम्रोसँग हुर्किसकेको जानकारी दिए।
संस्थाकी सदस्य शशी थापाले भनिन्, हामीले विगत वर्षहरूमा रोपेका फलका वृक्षहरूले केही वर्षभित्रै फल दिन थाल्नेछन्, जसको उपभोग त्यही बाटो हिँड्ने बालबालिकादेखि सबैले गर्न सक्नेछन्। जलवायु परिवर्तनका कारण खरसाङ जस्तो पहाडीहरमा समेत तापक्रम बढ्दै गएको वर्तमान परिस्थितिमा वृक्षरोपण झनै आवश्यक र सान्दर्भिक बनेको छ।
हाल 19 जना सदस्य रहेको यो पञ्जीकृत संस्थाले वार्डभित्र मात्र नभई सुदूर क्षेत्रहरूमा समेत पुगेर नियमित स्वास्थ्य जाँच शिविर सञ्चालन गर्दै आएको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक