
नयाँ दिल्ली, १८ जुलाई (हि.स.)। वेस्ट इन्डिजका पूर्व कप्तान ब्रायन लाराले महान क्रिकेटर सर गारफिल्ड सोबर्सको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई वेस्ट इन्डिजको “सर्वश्रेष्ठ खेलाडी” का रूपमा स्मरण गरेका छन्। लाराले सोबर्सको विरासतलाई कहिल्यै बिर्सन नसक्ने बताएका छन्।
इन्स्टाग्राममा साझा गरिएको आफ्नो सन्देशमा लाराले लेखेका छन्,
हाम्रा सबैभन्दा महान खेलाडी हामीलाई छोडेर जानुभएको छ। उहाँको परिवारका प्रत्येक सदस्यप्रति मेरो हार्दिक समवेदना छ, जसले कठिन परिस्थितिमा पनि उहाँलाई साथ दिए र आवश्यक शक्ति प्रदान गरे। यो अत्यन्त कठिन समयमा उहाँको परिवारले शान्ति र धैर्य प्राप्त गरुन् भन्ने मेरो प्रार्थना छ। महान खेलाडी, शान्तिपूर्वक विश्राम गर्नुहोस्। तपाईंको विरासत कहिल्यै बिर्सिने छैन।
क्रिकेट इतिहासका महानतम अलराउन्डरमध्ये एक
सर गारफिल्ड सोबर्सले सन् १९५४ देखि १९७४ सम्म वेस्ट इन्डिजका लागि ९३ टेस्ट खेल खेलेका थिए। यस अवधिमा उनले ५७.७८ को औसतमा ८,०३२ रन बनाएका थिए, जसमा २६ शतक समावेश छन्। बलिङतर्फ उनले २३५ विकेट पनि हात पारेका थिए।
बायाँहाते उत्कृष्ट ब्याट्सम्यान सोबर्स तीव्र गतिका बलर, बायाँहाते अर्थोडक्स स्पिनर तथा चिनाम्यान स्पिनरका रूपमा समेत उत्तिकै प्रभावशाली थिए। यसबाहेक उनको फिल्डिङ पनि असाधारण थियो। यही कारणले उनलाई क्रिकेट इतिहासका सबैभन्दा पूर्ण खेलाडीहरूमध्ये एक मानिन्छ।
ऐतिहासिक उपलब्धिहरू
सन् १९५८ मा पाकिस्तानविरुद्ध उनले अविजित ३६५ रनको ऐतिहासिक इनिङ्स खेलेका थिए। त्यो समयमा यो टेस्ट क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोर थियो र उक्त कीर्तिमान ३६ वर्षसम्म कायम रह्यो।
त्यसपछि सन् १९६८ मा नटिङ्घमशायरबाट काउन्टी क्रिकेट खेल्ने क्रममा उनले ग्ल्यामोर्गनका बलर माल्कम न्यासको एकै ओभरमा लगातार छ छक्का प्रहार गर्दै प्रथम श्रेणी क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो ब्याट्सम्यान बने।
उच्च सम्मानबाट विभूषित
क्रिकेटमा उनको अतुलनीय योगदानको सम्मानस्वरूप सन् १९७५ मा महारानी एलिजाबेथ द्वितीयले उनलाई ‘नाइटहुड’ उपाधि प्रदान गरेकी थिइन्। सन् २००० मा विजडनलज उनलाई २०औँ शताब्दीका पाँच महानतम क्रिकेटरमध्ये एकका रूपमा चयन गरेको थियो।
उनको महान विरासत आज पनि सर गारफिल्ड सोबर्स ट्रफी का रूपमा जीवित छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले हरेक वर्ष सबै प्रारूपमा उत्कृष्ट प्रदर्शन गर्ने पुरुष अन्तरराष्ट्रिय क्रिकेटरलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गर्दछ।
क्रिकेटको स्वर्णिम अध्यायको अन्त्य
सर गारफिल्ड सोबर्सको शुक्रबार निधन भएको थियो। उनको निधनसँगै क्रिकेट इतिहासको एक स्वर्णिम अध्याय समाप्त भएको छ। खेलकुद जगतका अनेकौँ दिग्गज व्यक्तित्वहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै क्रिकेटमा उनले पुर्याएको योगदानलाई स्मरण गरिरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल