
मुम्बई, 0४ जुलाई (हि.स.)। महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई शुक्रवार राति ठाणे स्थित अस्पतालमा भर्ती गरिएको छ। शनिवार बिहानदेखि उनको विभिन्न चिकित्सकीय परीक्षण भइरहेको छ र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।
शिवसेना (शिन्दे समूह) का एक नेता अनुसार, एकनाथ शिन्दे शुक्रवारदेखि नै केही अस्वस्थ थिए। विधानसभाको सत्र चलिरहेका बेला उनलाई कमजोरी महसुस भएको थियो। भाइरल ज्वरो र शारीरिक कमजोरीका कारण चिकित्सकहरूको सल्लाह अनुसार औषधि सेवन गराइएको थियो। राति आराम नपाएपछि उनलाई ठाणेको अस्पतालमा भर्ती गरिएको हो।
हाल विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी गरिरहेको छ। चिकित्सकहरूले उनको अवस्था स्थिर रहेको बताएका छन्।
वास्तवमा राज्यमा तीव्र रूपमा बदलिँदो राजनीतिक गतिविधि र निरन्तर व्यस्तताका कारण उनी पछिल्ला केही दिनदेखि पर्याप्त आराम गर्न सकेका थिएनन्। स्वास्थ्यमा समस्या देखिएपछि उनका आगामी निर्धारित कार्यक्रम तथा राजनीतिक भ्रमणहरू केही समयका लागि स्थगित गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी