छह वर्षको लामो अन्तरालपछि नथुला हुँदै भारत-चीन सीमा व्यापार पुनः शुरु
नथुला सीमा व्यापार पुनः शुरु


नथुला सीमा व्यापार पुनः शुरु


- सरकार पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक अवसर सिर्जना गर्न प्रतिबद्ध: पर्यटन मन्त्री

गान्तोक, 01 अगस्त (हि.स.)। लगभग छह वर्षको लामो अन्तरालपछि नथुला हुँदै भारत-चीन सीमा व्यापार पुनः शुरू भएको छ। यस अवसरमा आज पूर्व सिक्किमको भारत-चीन सीमास्थित नथुलाको नो म्यान्स ल्यान्डमा एक विशेष समारोह आयोजन गरियो। यस समारोह मार्फत २०२६ को व्यापार सिजन औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

भारत र चीनको सीमा गेटबीच रहेको नो म्यान्स ल्यान्डमा सिक्किम सरकार तथा तिब्बत स्वायत्त क्षेत्र (टीएआर) का अधिकारीहरूबीच उपहार आदान-प्रदान गर्दै व्यापार पुनः सञ्चालनको औपचारिक घोषणा गरिएको थियो। यसपछि शेरेथाङ ट्रेड मार्टमा उद्घाटन समारोह आयोजन गरियो, जसमा वाणिज्य तथा उद्योग मन्त्री टीटी भोटिया मुख्य अतिथि तथा विधायक पामिन लेप्चा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

समारोहलाई सम्बोधन गर्दै मन्त्री भोटियाले नथुला सीमा व्यापार पुनः सञ्चालनलाई सिक्किमको अर्थतन्त्र सुदृढ़ गर्ने, रोजगारी सिर्जना गर्ने तथा जनताको जीविकोपार्जनका अवसर विस्तार गर्ने ऐतिहासिक उपलब्धि बताए। उनले व्यापार मार्गको पुनः सञ्चालन भारत सरकारको ‘एक्ट इस्ट पोलिसी, पीएम गतिशक्ति र विकसित भारतको परिकल्पना अनुरुप रहेको उल्लेख गर्दै यसले व्यापार, पर्यटन तथा क्षेत्रीय सम्पर्क विस्तारमा सिक्किमको रणनीतिक भूमिकालाई अझ सुदृढ़ बनाउने बताए।

उनले नथुला मार्गबाट कैलाश मानसरोवर यात्राकौ सफलतापूर्वक पुनः सञ्चालन भइसकेको उल्लेख गर्दै सीमा व्यापारको पुनः शुरुवातले नथुलालाई व्यापार, पर्यटन, सांस्कृतिक आदान-प्रदान तथा आध्यात्मिक सम्पर्कको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम सरकार पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको उनले बताए।

मन्त्री भोटियाले नथुला व्यापार मार्गले पञ्जीकृत व्यापारीहरूलाई सिक्किमका हस्तकरघा उत्पादन, हस्तकला, जैविक उत्पादन तथा सूचीकृत अन्य वस्तुहरूको बजार विस्तार गर्ने अवसर प्रदान गर्ने बताए। उनले वाणिज्य तथा उद्योग विभागले भारत सरकारको विदेश व्यापार महानिर्देशनालय समक्ष व्यापार गर्न मिल्ने वस्तुहरूको सूची विस्तार तथा व्यापारको परिमाण वृद्धि गर्न प्रस्ताव पेश गरिसकेको जानकारी दिए। यसबाट स्थानीय उद्यमीहरूका लागि थप अवसर सिर्जना हुने उनले अपेक्षा व्यक्त गरे।

व्यापार पुनः सञ्चालनका लागि सहयोग पुर्‍याएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार, सम्बन्धित मन्त्रालयहरू, भारतीय सेना, भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी), भन्सार विभाग, सिक्किम पुलिस, जिल्ला प्रशासन तथा सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै मन्त्री भोटियाले नथुला सीमा व्यापारलाई राज्यको आर्थिक समृद्धि, रोजगारी सिर्जना र विकासको प्रमुख आधारका रूपमा अझ सुदृढ़ बनाउने प्रतिबद्धता दोहोर्याए।

यसैगरी, विशिष्ट अतिथि विधायक लेप्चाले नथुला हुँदै भारत-चीन सीमा व्यापार पुनः सञ्चालनलाई व्यापार, सांस्कृतिक आदान-प्रदान र आर्थिक सहकार्यको ऐतिहासिक परम्पराको पुनर्जागरण बताइन्। यसले विशेष गरी ना थाङ तथा छेउछाउका सीमावर्ती गाउँका बासिन्दाका लागि विशेष महत्त्व राख्ने उल्लेख गर्दै कठिन परिस्थितिमा राष्ट्रको सीमा सुरक्षामा उनीहरूले पुर्‍याएको योगदानको पनि प्रशंसा गरिन्।

उनले सीमा व्यापारबाट प्राप्त हुने लाभ वास्तविक सीमावर्ती बासिन्दा तथा साना स्थानीय व्यापारीसम्म पुग्ने सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरिन्। मानक कार्यविधिको पूर्ण कार्यान्वयनमार्फत स्थानीय व्यापारी, यातायात व्यवसायी, मजदुर, उद्यमी तथा युवाहरूलाई प्राथमिक लाभग्राही बनाउनुपर्नेमा उनले जोड दिइन्।

उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व र सीमावर्ती समुदायप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै नथुला व्यापार पुनर्जीवनले जीविकोपार्जन सुदृढ़ गर्नुका साथै आर्थिक सहकार्य र राज्यको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

यस अघि वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी. युत्सोले नथुला सीमा व्यापार छह वर्षपछि पुनः सञ्चालन भएको जानकारी दिँदै भारत सरकारबाट गत वर्षको अन्त्यतिर प्राप्त निर्देशनपछि व्यापार सिजनका लागि आवश्यक पूर्वाधार मर्मत तथा तयारी युद्धस्तरमा सम्पन्न गरिएको बताइन्। उनले नथुला सीमा व्यापार पुनः सञ्चालन भारत सरकार र सिक्किम सरकार दुवैको सीमावर्ती व्यापार प्रवर्द्धन, क्षेत्रीय सम्पर्क विस्तार, सीमावर्ती गाउँहरूको सामाजिक-आर्थिक विकास तथा शान्तिपूर्ण सहकार्यप्रतिको प्रतिबद्धताको प्रतीक रहेको उल्लेख गरिन्। यसले स्थानीय उद्यमी तथा अन्य सरोकारवालाका लागि महत्वपूर्ण आर्थिक अवसर पनि सिर्जना गर्ने उनले बताइन्।

उनले नथुला र शेरेथाङलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिसकिएकाले प्रयोगपछि प्लास्टिकजन्य फोहोर आफैं फिर्ता लैजान सबै सरोकारवालालाई आग्रह गरिन्।

समारोहका अवसरमा लाभार्थीहरूलाई सीमा व्यापार पास तथा क्याफेटेरिया सञ्चालनका लागि स्वीकृतिपत्र पनि वितरण गरिएको थियो।

उल्लेखनीय छ, तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत यादोङ काउन्टीमा नथुलाबाट लगभग १६ किलोमिटर टाढा रहेको रेन्किङगाङ भारतीय व्यापारीहरूका लागि तोकिएको व्यापार केन्द्र हो भने शेरेथाङ ट्रेड मार्ट चिनियाँ व्यापारीहरूका लागि निर्धारित व्यापार केन्द्रका रूपमा सञ्चालन हुँदै आएको छ।

भारत र चीनबीच २३ जून, २००३ मा सीमावर्ती व्यापार विस्तारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएपछि नथुला मार्गबाट व्यापार सञ्चालनको अनुमति दिइएको थियो। नथुला भारत-चीनबीचको तेस्रो सीमावर्ती व्यापार नाका हो। अन्य दुई नाका उत्तराखण्डको लिपुलेख र हिमाचल प्रदेशको शिपकी ला हुन्।

समारोहमा सामाजिक कल्याण विभाग मन्त्री साम्डुप लेप्चा, विधायक दिले नामग्याल बार्फुङ्पा, विधायक सोनाम भेन्चुङ्पा, भारत सरकारको वाणिज्य विभागका अधिकारीहरू, सेना, अर्धसैनिक बल, सिक्किम पुलिस, इन्डो-चाइना बोर्डर ट्रेडर्स वेलफेयर एसोसिएसन, नथुला बोर्डर ट्रेड वेलफेयर एसोसिएसनका प्रतिनिधिहरू आदि उपस्थित थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande